विराटनगर : ‘महिला आत्मनिर्भर भए व्यक्ति मात्रै होइन, परिवारलाई नै सक्षम बनाउन सकिने रहेछ।’ यो भनाइसँगै अन्जुकुमारी राईसँग कुराकानी आरम्भ भयो।
महिलाले बोक्ने ब्याग, सब्जी ब्याग लगायतका सामग्री आफै उत्पादन गर्दै विराटनगरदेखि पूर्वी पहाडी जिल्लामा आपूर्ति गर्दै आएकी रहिछिन्। त्यसो त उनी प्रशिक्षक समेत हुन्। यहाँसम्म आइपुग्दा उनले भोगेका तितामिठा पलको सँगालो उनका जीवनमा धेरै छन्।
तैपनि शून्यबाट शुरु गरेको व्यावसायिक यात्राका पछि सफलताका थुप्रैवटा अंक थप्न सक्दा विगतका ती पल अझै हौसलाका रूपमा लिने गरेको उनी बताउँछिन्।
सुनसरी जिल्लाको इनरुवामा जन्मेकी अन्जु अहिले मोरङको बुढीगंगामा घर बनाएर व्यावसायिक यात्रालाई निरन्तरता दिइरहेकी छिन्।
सानै उमेरमा बिहे भएकी अन्जुका श्रीमान् पूर्व प्रहरी हुन्। अन्तरजातीय विवाह गरेकी अन्जुका श्रीमान बस्नेत हुन्। वैवाहिक जीवन र व्यावसायिक जीवनलाई सहज र सरल तरिकाले एउटा लयमा हिँडाउन दुवैजनाको बुझाइको जरा बलियो हुनुपर्ने धारणा राख्छिन्। श्रीमानको साथले पनि आफू यहाँसम्म आइपुगेको उनी बताउँछिन्।
झण्डै २ दशकअघि छोरालाई काखमा लिएर सिलाइ सिक्न थालेकी अन्जुले मेसिन नहुँदा हातले सिलाएर पनि कपडा तयार पार्ने गरेको स्मरण सुनाउँछिन्। उनी भन्छिन्, ‘मैले सिलाइ सिक्दा हातैले सिलाएर मेरा छोराछोरीलाई पनि लगाइदिएँ। साया (पेटिकोट), म्याक्सी पनि सिलाएर बेचेकी छु।’
कपडा सिलाएर पहिलोपटक १२ रुपैयाँ ज्याला पाएको स्मृति उनले सुनाइन्।
अहिले सुन्दा १२ रुपैयाँ के होला? भन्ने प्रश्न उब्जिन्छ। तर अन्जुका लागि त्यो केवल पैसा मात्रै थिएन। व्यावसायिक यात्रालाई थप कसरी अगाडि बढाउन सकिन्छ भन्ने माध्यम पनि थियो। त्यसैले त उनले श्रीमानसँग दशैँ पेस्कीले कपडा होइन। कल किन्ने प्रस्ताव राखिन्।
श्रीमानले जोगबनीबाट खरिद गरेर दशैँको उपहार स्वरूप दिएको ‘कल’ (सिलाई मेसिन)को सहायता र मेहनतले अन्जु ब्याग सेन्टर तथा सिलाइ कटाइ प्रशिक्षण केन्द्र नाम दिएर उद्योग सञ्चालन गर्न सफल भएकी छिन्।
सिलाइको काम गर्दा संस्था दर्ता गर्नुपर्छ भन्ने ज्ञान उनलाई थिएन। पछि जानकारीमा आएपछि घरेलुमा दर्ता गरिन् र व्यवसायलाई उचाइमा पुर्याइन्।
‘संस्था दर्ता नगरी काम गरेँ, त्यो वेला थाहै भएन मेरो १८–१९ वर्ष यतिकै गयो। त्यो वेला मैले संस्था दर्ता गरेको भए अझै कहाँ पुग्थेँ’, उनी भन्छिन्, ‘अहिले दर्ता भए पनि स्थानीय, प्रदेश सरकारको नजरमा पर्न सफल भएकी छु।’
स्थानीय, प्रदेश सरकारले आयोजना गरेको उद्योग सम्बन्धीको कार्यक्रममा भाग लिने अवसर पाएको बताउने उनले प्रदेश सरकारको अनुदानमा सिलाइ मेसिन पाइन्।
घरैमा उद्योग सञ्चालन गरेकी अन्जुले आफ्नै प्रशिक्षार्थीलाई रोजगारी दिएकी छिन्। ७ जना महिला उनको उद्योगमा काम गर्दै आइरहेका छन्। सिकेर काम गर्न चाहे आफैँले काम दिने गरेको बताउने उनी यसका लागि प्रतिबद्ध भएर लागिरहनुपर्ने बताउँछिन्।
सिकेर जानिसकेपछि कतिले यसै छोड्ने गरेको अनुभव पनि छ। यसलाई निरन्तरता दिए आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ।
महिला आत्मनिर्भर भए पुरुषको कमाइमा मात्रै अल्झिनु नपर्ने धारणा राख्ने उनी आफ्नो कमाइले श्रीमान् र परिवारलाई धेरै सहयोग मिलेको उनी बताउँछिन्।
‘नेपालको जागिर यस्तै हो। परिवार पाल्न धौधौ हुन्छ। श्रीमानको साथले मैले पनि व्यवसाय शुरु गरेँ। म उहाँको भरथेग बन्न सकेँ।’ उनी भन्छिन्, ‘शून्यबाट शुरु गरेको मेरो व्यावसायिक यात्रा लाखौँको सामान जोडेकी छु, छोरा अष्ट्रेलिया पढ्न गएको छ।’
आफूले उत्पादन गरेको सामान ब्राण्डिङ गर्दै विश्व बजारसम्म पुर्याउने उनको लक्ष्य छ।
नयाँ पुस्तालाई पनि आफूले सिकेको सीप सिकाउनुपर्छ भन्ने उद्देश्य रहेको बताउने उनी भन्छिन्, ‘अब दिनदिनै हामी सक्दैनौँ कम्तिमा नयाँ पुस्ताले सिक्दा सीप त खेर जाँदैन नि।’
त्यसो त घरिघरि उनी प्रदेश सरकारले दिने पुरस्कार र सम्मानप्रति असन्तुष्टि पनि व्यक्त गर्छिन्। कामभन्दा पहँुचको हिसाबले वितरण गर्ने सम्मानप्रति सधैँ असन्तुष्टि रहेको उनी बताइन्।
‘स्थानीय सरकार र प्रदेश सरकारले वितरण गर्ने पुरस्कार र सम्मान चाहिँ भनसुनको हिसाबले हुनेरहेछ।’ उनी असन्तुष्टि व्यक्त गर्दै भन्छिन्, ‘भर्खरैको कुरा हो प्रदेश सरकारले उद्यमी महिलालाई दिइएको पुरस्कार हिजोअस्ति आउने बहिनीले पाइन्। भनसुनको हिसाबले मात्रै हुनेरहेछ। यहाँ समय र मेहनतको कदर कम हुनेरहेछ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।