|

काठमाडौं : लेबनानको विभिन्न स्थानमा मेसेज अर्थात् सन्देश पठाउन प्रयोग हुने ‘पेजर’ उपकरण एकसाथ विस्फोट हुँदा एक बालिकासहित ९ जनाको मृत्यु भएको छ। 

ज्यान गुमाउनेमा इरानसमर्थित हिजबुल्लाहका ८ जना सदस्य समेत रहेको बीबीसीले जनाएको छ। विस्फोटमा लेबनानका लागि इरानका राजदूत मुज्ताबा अमानी र हिजबुल्लाहका सदस्यहरुसहित २८ सय जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इरानले समेत विस्फोटमा आफ्ना राजदूत घाइते भएको पुष्टि गरेको छ।​ हिजबुल्लाह समूहसँगै लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले समेत उक्त घटनाको दोष इजरायललाई दिएको छ। 

एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाह समूहले उक्त घटनाको दोषीलाई उचित सजाय दिने र प्यालेस्टिनी जनताको संघर्षलाई आफूहरुको पूर्ण समर्थन रहेको बताएको छ। 

इजरायलले भने उक्त विषयमा कुनै प्रतिक्रिया दिएको छैन। लेबनानको राजधानी बेरुतदेखि बेका उपत्यकासहित छिमेकी देश सिरियाबाट पनि पेजर विस्फोटको खबर आएको बताइएको छ। यी विस्फोटहरूमध्ये धेरैजसो साना भए पनि केहीको नतिजा घातक साबित भएको बीबीसीले जनाएको छ।

हिजबुल्लाहका अधिकारीहरुका अनुसार नयाँ प्रविधिको पेजर पहिले अत्याधिक तातिएको र पछि विस्फोट हुन पुगेको हो। मिडिया रिपोर्ट अुनसार पेजर ह्याक अथवा ट्र्याक गरी ब्लास्ट गरिएको हो। 

अमेरिकाले भने उक्त विस्फोटमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै इरानलाई उक्त विषयलाई भयावह नबाउन आग्रह गरेको रोयटर्सले जनाएको छ।

इजारयल र हमाससमूहबीचको युद्ध सुरु भएसँगै हिजबुल्लाहले पनि इजरायलमाथि निरन्तर आक्रमण गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.