|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभामा बुधबार विश्वासको मत मागेका छन्। मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेको यो छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको दाबीसमेत गरे।

बैशाख २७ गते सरकार बनेपछि बैशाख ३१ विश्वास मत लिएका कार्कीले १ सय २७ दिन पछि आज फेरि विश्वासको मत लिन लागेका हुन्।

केन्द्रमा राजनीतिक समिकरण परिवर्तन भएपछि कोशीमा माओवादी केन्द्रले साउन ११ गते सरकार छाडेको थियो भने भदौ १४ गते समर्थन फिर्ता लिएको थियो। अहिले प्रदेशका नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ।

‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केही सकारात्मक संदेश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न गरिएको छ’ उनले भने, ‘धार्मिक तथा साँस्कृतिक क्षेत्रको विकासका निम्ति पाथिभरा क्षेत्र विकास समिति (गठन) आदेश, २०८१, बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश, २०८१, हलेशी महादेवस्थान विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गरि कार्यान्वयनको चरणमा रहेको छ।’

सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरूप कर्जा सुरक्षा कार्यक्रमको विस्तार र प्रवर्द्धनका लागि प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँबीच समझदारीपत्रको आदानप्रदान जस्ता कुराले प्रदेशमा आशाको सञ्चार सृजना गरेको उनको भनाइ छ।

प्रदेशको पर्यटन प्रर्वद्धनका लागि सार्वजानिक निजी सहकारी लगानीको अवधारणा अनुसार भेडेटार स्कईवाक परियोजना संचालन र ट्रायल पास हुनेबित्तिकै लाइसेन्स वितरण जस्ता विषयले प्रदेश उत्साह छाएको उनले बताए।

उनले विगतका तिता बिर्सिएर सकारात्मक अभ्यासबाट अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनाविपरीत प्रकट भएका विचलनहरु रोक्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नका लागि आर्थिक शिथिलता, दण्डहिनता र निराशालाई चिर्दै प्रदेशवासी जनतामा प्रदेश संरचनाप्रति आशा र भरोसा पैदा गर्ने विश्वास दिलाए।

विशेषतः युवाहरुमा प्रकट नैराश्यता, आक्रोस र नकारात्मक सोंचमा परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ  छ। कांग्रेस र एमालेको सहकार्यबारे स्पष्ट पार्दै भने  –‘प्रदेशवासी जनता समेतको चाहनाबमोजिम अघि बढेको उच्च राजनितिक सहकार्य हो।’

अहिलेको समिकरण राजनीतिक दाउपेच नभएर राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन र राजनीतिक स्थिरताका लागि भएको उनले भने ।

प्रदेशका सबै खाले मौलिक सभ्यता, भाषा, धर्म, संस्कृति र जातजातिको संरक्षण एवं विकास गर्ने, विविधता र बहुलतालाई कोशी प्रदेशले महत्पूर्ण ठानेर काम गर्ने उनको प्रतिबद्धता छ।

मुख्यमन्त्री कार्कीले २०८१ बैशाख २७ गते सरकार बनाउन सहयोग गरेकोमा माओवादी केन्द्रलाई समेत धन्यवादसमेत दिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.