विराटनगर : नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले बजेट‚ नीति तथा कार्यक्रममा सरसल्लाह नगरेको, सरकार गठनमा, नियुक्तिमासमेत विभेद गरेको आरोप मुख्यमन्त्री हिक्मतबहादुर कार्की नेतृत्वको सरकारमाथि लगाएका छन्।
आज (बुधवार) मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि आह्वान गरिएको प्रदेशसभाको बैठकमा पूर्वमुख्यमन्त्री राईले विभेद गरेको आरोप कोशी सरकारमाथि लगाएका हुन्।
वामपन्थी नेतृत्वको गठबन्धनमा बेरिएर विश्वासको मत आफूहरुको दलले दिएको बताउँदै उनले त्यसपछि सहयात्रामा रहेको तर विभेद गरिएको आरोप उनले कार्की नेतृत्वको सरकारमाथि लगाए।
भोट हाल्दाहाल्दै पनि सरकारले प्रतिपक्षको कित्तामा राखेको आरोप लगाउँदै उनले आफूहरुले अहिलेको सरकारलाई दिएको समर्थन अहिले पनि फिर्ता नलिएको दावी गरे।
‘सत्ता पक्षका सांसदहरुले २ करोड समानुपातिकले १ करोडको लेखेर दिनुपर्ने थियो तर हामीलाई १ करोड ५० लाखमात्रै बजेट विनियोजन भयो,’ उनले भने, ‘तिमीहरु प्रतिपक्ष हौ है‚ भोट दिए पनि प्रतिपक्षमा नै बस भनेर हाम्रो समर्थन उहाँहरुले खोजेको होइन रहेछ भन्ने व्यवहारले देखियो। मैले त्यतिवेला पनि यो कुरा उठाएको थिएँ। यसभन्दा अगाडि यस्तो कहिलै भएको थिएन। समानुपातिक र प्रत्यक्षमा यस्तो भए पनि मिलाइएको थियो तर सत्ता पक्ष र प्रतिपक्षमा तलबभत्ता आधा यो नहुने कुरा हो।’
उनले स्वास्थ्यलाभको कामना गर्दा पनि एमाले नेताहरु रिसाउने गरेको टिप्पणी गरेका छन्।
मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएको तर अहिले आवश्यक परेजस्तो महसुस नभएको बताउँदै उनले भने, ‘स्वास्थ्यलाभको कामना गर्दा पनि एमालेका नेताहरु रिसाउनु हुन्छ। विश्वासको मत दिँदा पनि उहाँहरु रिसाउनुहुन्छ। किनभने उहाँहरुलाई आवश्यक परेको छैन भने रिसाउनुहुन्छ।’
संसदीय समितिका सभापति चयनमा पनि छलफलमा नबोलाएको बताउँदै उनले मन्त्री बनाएजस्तो सभापति सत्ता पक्षको मात्रै बनाउने सिद्धान्त या प्राक्टिस नभएको उल्लेख गरे।
‘संसदीय सभापति सरकारलाई निर्देशन गर्ने, नियन्त्रण गर्ने संसदको दायित्व हो। सबै सांसदको भूमिका अपेक्षित हुन्छ प्रतिपक्षको भूमिका अझ अपेक्षित हुन्छ‚’ उनले भने, ‘त्यहाँको भूमिका बाँडेर लिनुपर्छ। सरकारको पार्टीले मात्रै बाँड्ने यो सिद्धान्तअनुसार मिल्दैन।’
चुनावको समय कार्यतालिका मिलाउने पूर्वनिधारित महत्वपूर्ण कार्यक्रम भएकाले मिलाउने अनुरोधलाई समेत बेवास्ता गरेको आरोप उनले लगाएका छन्।
‘विश्वासको मतको लागि दिँउसो संसद सचेतकले निवेदन गर्दासमेत सारिएको छ। हाम्रो त पूर्वनिधारित कार्यक्रम पार्टी अध्यक्षले भाग लिने कार्यक्रम थियो‚ धेरै दिन थिएन। १ दिनको कुरा भन्दासमेत समझदारी खोजिएन‚’ उनले भने, ‘हामीलाई सरकारमा लिएर जान चाहेको रहेनछ।’
यसमा सभामुखको भूमिका पनि चित्तबुझ्दो नदेखिएको आरोपसमेत उनको छ।
‘सभामुखको भूमिका रिडिङ पेपर पढ्नेभन्दा बढ्ता छ, पूर्वनिर्धारित कार्यकमलाई, उम्मेदवार बन्ने भोट हाल्न पाउने अधिकार हो। त्यसबाट हामीलाई बञ्चित गर्ने?‚’ उनले प्रश्न गर्दै भने,‘त्यस्तो खालको कुरा सभामुख र सत्ता पक्षीय सांसदहरुबाट अलोकतान्त्रिक तरिका, अव्यावहारिक तरिका भयो। सत्ता पक्ष र सभामुखको भूमिका उचित हुन सकेन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।