काठमाडौं : नेपालको आम्दानीको सबैभन्दा ठूलो हिस्सा ‘रेमिट्यान्स’ले धानेको छ। विमानस्थलमा हरेक दिन विदेश जाने नेपाली युवाको लर्कोले यसको पुष्टि गर्छ।
पारिवारिक सपना र आर्थिक समस्या टार्न विदेश गएका सबै नेपाली युवाले पैसा पठाउँछन् वा उनीहरू आफू सकुशल स्वदेश भने फर्किन्छन् भन्ने सम्भावना भने छैन। युवाहरूको रेमिट्यान्सले देशको अर्थ व्यवस्था टिकिरहँदा आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन्।
यसरी हेर्दा औसतमा दैनिक चार नेपाली युवाले विदेशी भूमिमा ज्यान गुमाइरहेका छन्। यो संख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो।
यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको संख्या अझै धेरै छ। किनभने कतिपयले श्रमस्वीकृति लिई विदेश जाँदा उनीहरूलाई पर्ने समस्याको सुनुवाइ पनि हुन सक्दैन भने मृत्यु हुँदासमेत उनीहरूका लागि थप जटिलता पैदा भइरहेको छ। पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली युवा मृत्युवरण गर्न बाध्य छन्।
सबैभन्दा धेरै खाडी मुलुक
दु:ख गर्नका लागि विदेश जाने कोही कसैको रहर हुँदैन। तर, बेरोजगारी र अभावले थिचिएपछि नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य छन्। पछिल्लो समय आफ्नै देशमा अवसरको कमी र वैकल्पिक व्यवस्था नहुँदा वैदेशिक रोजगारी नेपाली युवाको आकर्षण केन्द्र बनेको हो।
घरखेत साहुलाई बन्धकी राखेरै भए पनि युवा विदेश भासिने क्रम निरन्तर छ। लाउँलाउँ खाउँखाउँ उमेरमा देशभित्र रोजगारीको अभावमा विदेशिन बाध्य युवाको दु:ख पीडा भनिसाध्य छैन। कति लुटिन्छन्,कति कामकै सिलसिलामा अंगभंग हुन्छन्। कतिले ज्यान गुमाउँछन्।
आर्थिक वर्ष ८०/८१ मा सबैभन्दा बढी मलेसियामा युवाहरूको मृत्यु भएको देखिनेछ। बोर्डले दिएको तथ्यांक अनुसार मलेसियामा ३४१ जना नेपालीको मृत्यु भएको छ भने साउदी अरबमा २२६ जनाको मृत्यु भएको छ। त्यस्तै यूएईमा १५५, कतारमा ११७ र कुवेतमा ४० जनाको मृत्यु भएको छ।
विदेशी भूमिमा आर्थिक वर्ष ७९/८० मा पनि मृत्यु हुनेको संख्या १ हजार २११ छ। बोर्डका अनुसार आर्थिक वर्ष ७९/८० मा मलेसियामा २५८ जना, साउदी अरबमा २३१, कतारमा ११५, यूएईमा ११० र कुवेतमा ४२ जना छन्।
विदेशमा ज्यान जानेको संख्या
आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०६६/६७ यो संख्या ४२१ थियो। बोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा एक हजार ६ र २०७२/७३ मा ८२६ जनाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको थियो।
यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२, २०७७/७८ मा एक हजार २४३ र २०७८/७९ मा १ हजार ४७९ जनाको मृत्यु भएको छ।
कति भित्रियो रेमिट्यान्स?
गत आव ०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स मुलुकमा भित्रिएको थियो। नेपाल राष्ट्र बैंकले दिएको विवरणअनुसार रेमिट्यान्समा साढे १६ प्रतिशतले वृद्धि भएको हो।
वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका थिए।
त्यस्तै, २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या सात लाख ७३ हजार २४२ हजार थियो। जुन संख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको संख्या ६१ हजार ८१९ जनाले बढी हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।