इलाम : हरिप्रसाद कल्याणी रिमाल राष्ट्रिय नाटक प्रतियोगिता–२०८१ मा चेतना नाट्य समूह, इलामको नाटक 'घरजम' ले प्रथम स्थानमा हासिल गरेको छ। सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर, जमलमा भएको प्रतियोगितामा कोशीको प्रतिनिधित्व गरेको घरजमले प्रथम स्थान हासिल गरेको हो।
हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए।
उत्कृष्ट नाटक घोषित भएसँगै घरजमले १ लाख रुपैयाँ प्राप्त गरेको छ। सर्वोत्कृष्ट नाटकसँगै घरजमबाट उत्कृष्ट अभिनेत्री भावना खपाङ्गी मगर, उत्कृष्ट निर्देशक सुरेश पोर्तेल र अन्वेश राई घोषित भए। व्यक्तिगत विधाका विजेताले जनही १५ हजार रुपैयाँ पुरस्कारको प्राप्त गरे। दोस्रो स्थान लुम्बिनी प्रदेशको निब र तेश्रो बागमती प्रदेशको सिल्भियाले हासिल गरे। उनीहरुले जनही ५० हजार र २५ हजार प्राप्त गरे। साहित्यकार माधव भण्डारीले लेखेको नाटक घरजम ५० वर्ष अघिको नेपाली गाउँको कथा हो।
कथाको निर्देशन सुरेश पोर्तेल र अन्वेश थुलुङले गरेका थिए। नाटक घरजममा सामान्य नेपाली समाजमा विबाहित महिलाले भोग्नुपर्ने पारिवारिक समस्याको उजागर गर्न खोजिएको छ। महिलाले अवसर पाएमा समाज रुपान्तरण योगदान दिन सक्छिन्। यतिबेला महिलालाई समाजले अवसर, सहयोग र समन्वयमा पछि पार्न नहुँने सशक्त आवाज बोलेको निर्देशक सुरेश पोर्तेलले बताए।
विवाह गरेकी महिलाले कर्म घरमा परिवारका सदस्यसँग रहदा बस्दा सासु आमाको बुहारी प्रतिको व्यवहार, पतिले पत्नी र आमासँग दोहोरो सन्तुलित व्यवहार देखाउन खोज्दा घरजम टुट्ने र जोडिन आउने परिदृष्य हेर्न सकिने छ।
यसका साथै घरजमका आवश्यक आधारहरुको निर्माण गर्न सशक्त सन्देश दिने नाटकका अर्का निर्देशक अन्वेश थुलुङले जानकारी गराए। करिब ४५ मिनटको नाटकमा सरिता राई, भावना खपाङ्गी मगर, सुशान्त चापागाई, समिर राई, रेबिका तोलाङ्गी, आशिका सोतेम्बा राई र भूमिका सुब्बाले अभिनय गरेका थिए। नाटकको बाध्यवादन तथा गीतमा निर्मल राई र प्रितिका मुखिया रहेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।