देउखुरी : ढाका टोपी र प्लास्टिकको चप्पल लगाएका ६० वर्षीय राउटे दिलबहादुर शाहीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा भेटेर मुख्यमन्त्री चेतनारायण आचार्यसँग दशैँ खर्च मागेका छन्।
दशैँ खर्च माग्न देउखुरी आइपुगेका शाहीले मुख्यमन्त्रीलाई काठको कोसेली उपहार दिए। सुर्खेतमा बस्दै आएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधवार देउखुरी आइपुगेका हुन्।
‘यो हातैले बनाएको काठको कोसेली हो। यस्ता कोसेली बनाउन थालेको धेरै भइसक्यो‚’ उनले भने‚ ‘मुख्यमन्त्रीज्यू दशैँ आउनै लाग्यो‚ खर्च चाहियो।’
दशैँ खर्च माग्न यसपटक शाही एक्लै लुम्बिनीको मुख्यमन्त्री कार्यालयसम्म आएका छन्। गाडी चढ्न डराएकाले अरु साथीहरू आउन नसकेको उनले बताए।
सरकारले राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। भत्तावापत उनीहरुले मासिक ४ हजार रुपैयाँ बुझ्ने गरेका छन्। राउटे समुदाय हरेक वर्ष दशैँ खर्चका लागि प्रदेश सरकारलाई आग्रह गर्दै आएका छन्।
मुख्यमन्त्री आचार्यले राम्रोसँग दशैँ मनाउन र आपसमा मिलेर बस्न भन्दै दिलबहादुरलाई १० हजार रुपैयाँ नगद दिएर पठाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।