दाङ : बबई गाउँपालिका- ७ की रेउती बिकका श्रीमानको दुवै मिर्गौैलाले काम गर्दैनन्। श्रीमानको अवस्था निकै गम्भीर छ। नियमित डाइलासिस गराइरहनुपर्छ। त्यसैका लागि उनले श्रीमानलाई घरबाट राप्ती प्रादेशिक अस्पताल आउँछिन्। तर, उनले अस्पतालमा पर्याप्त मेसिन नहुँदा डाइलासिस गर्न नपाएको गुनासो गरिन्।
‘अस्पतालमा डाइलासिस मेसिन छैन। बाहिर लैजान पैसा छैन। अब श्रीमानलाई कसरी बचाउने?’, उनले गुनासो गरिन्। आफूले श्रीमानको अवस्थाबारेमा अस्पतालमा जानकारी गराए पनि सहयोग नपाएको उनले बताइन्।
सल्यान घर भइ हाल तुलसीपुर बस्दै आएका बालाराम थापाले गत मंसिर महिनादेखि अस्पतालमा डाइलासिस गराउँदै आएका छन्। अहिलेसम्म हप्ताको २ पटक मात्र डाइलासिस गराउँदै आएको थिए। उनलाई अब हप्तामा ३ पटक डाइलासिस गर्न चिकित्सकले भनेका छन्। तर सेवा पाउन समस्या भएको उनले बताए।
१४ वटा मेसिन भए पनि ८ वटा मात्र चालु अवस्थामा छ। ६ वटा बिग्रिएको छ। अस्पतालमा अहिले ७० जनाले डाइलासिस सेवा लिइरहेका छन्। ३० जना पालो कुरेर बसेका छन्। अहिले दिनमा ३ सिफ्टमा बिरामीहरूलाई सेवा दिँदै आइरहे पनि केही मेसिन बिग्रिँदा सेवा दिन समस्या भएको डाइलासिस वार्ड इन्चार्ज लिना भडेलले बताइन्।
मेसिन पर्याप्त नहुँदा हप्तामा ३ पटक डाइलासिस गर्ने बिरामीलाई २ पटक मात्र गर्ने गरेको र अहिले ३० जना पालोमा रहेको उनले बताइन्। उनका अनुसार ६ बिग्रिएका वटा मध्ये एउटा मात्र बन्न सक्ने अवस्थामा छ। मेसिन बिग्रिएपछि इञ्जिनियर आएर जाँच गरेको र उनीहरूले ५ वटा नबन्ने बताएको उनको भनाइ छ।
उनले मेसिन नबनेसम्म र थप नभएसम्म पालोमा बसेकाले सेवा पाउन गाह्रो रहेको समेत बताइन्। ‘मेनिस सफा गरेर एक बिरामीलाई सेवा दिँदा कम्तीमा ५ घण्टा लाग्छ’, उनले भनिन्, ‘अहिलेको मेसिनबाट उहाँहरूको पालो आउने सम्भावना नै देखिँदैन।’
यता डाइलासिस मेसिन थप गर्न प्रदेशको स्वास्थ्य मन्त्रालय माग गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीले बताए। केहीदिन अघि मात्र संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा सामाजिक सेवा विभागबाट डाइलासिस मेसिनको अवस्था र आवश्यकताको बारेमा पत्र आएको र थप ५ वटा नयाँ मेसिनको माग गरेको उनको भनाइ छ। उनले मेसिनमा सामान्य समस्या आए पनि दक्ष इञ्जिनियर नहुँदा समस्या हुने गरेको समेत बताए।
‘डाइलासिसका कर्मचारीले मेसिनमा सामान्य समस्या आए पनि खासै थाहा हुँदैन। उहाँहरू भनेको बिरामीहरूलाईसेवा दिने हो। तर, मेसिनको बारेमा जानकारी हुँदैन’, उनले भने, ‘अस्पतालमा दक्ष इञ्जिनियरको आवश्यकता छ। तर, हामीले यहाँका एक जना इलेक्ट्रिसियनलाई काठमाडौँ पठाएर एक महिनाको सामान्य तालिम लिन लगाएका छौँ। उहाँले नै सामान्य हेर्नुहुन्छ। ठूलो समस्या भएमा हामीले प्रदेश मन्त्रालय र मेसिन पठाउन कम्पनीबाट इञ्जिनियर बोलाएर देखाउने गरेका छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।