|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुने भएको छ। गत असार ३० गते कांग्रेस र एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुन लागेको हो। 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली भोलि विहान ११ बजे कतार एयरलाइन्सबाट संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आफैँले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरूको संक्षिप्त र नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता स्पष्टताका साथ राख्ने बताएका छन्।

अमेरिका भ्रमणबारे केहीदिन अघि प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू र आन्तरिक मामिलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दक्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति संयुक्त राष्ट्रसङ्घमा राख्ने उल्लेख गरेका थिए।

प्रधानमन्त्री ओलीले नेपालको शिर ढल्ने, इज्जत तल पर्ने, नेपालको कुनै पनि हिसाबले प्रभाव, प्रतिष्ठा, हित, सरोकारमा तल पर्नेगरी काम नगर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन्।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरो (एलडिसी)को अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ। साथै उनले समुद्रीसतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने छन्।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ।

उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुने छन्। प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.