|
फाइल तस्वीर

काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेपालको सुन्दर भविष्य संविधानको जगबाट मात्र निर्माण गर्न सकिन्छ भन्ने हेक्का सरकार र राजनीतिक दलहरुले राख्नुपर्ने बताएका छन्। 

बिहीवार उनले नवौँ संविधान दिवसको अवसर पारेर शुभकामना दिँदै सरकार र राजनीतिक दलहरुले देशमा सामाजिक न्याय, आर्थिक वृद्धि‚ सुशासनका कुराहरु केवल गफ र भाषणमा मात्रै सीमित गरेको आरोप यतिखेर नागरिकबाट आएको बताएका छन्।

'संविधानतः सबै नेपाली नागरिक समान छन् भन्ने कुरा व्यवहारमा नदेखिँदा राज्यमाथि आम मानिसको भरोसा र विश्वास संकटमा परेको छ। कार्यकारीमा बस्ने नेतृत्वको शक्तिको असीमित चाहनाले संविधानको मूल मर्म “शक्ति पृथकीकरणको सिद्धान्त” लाई नै चोट पुग्न गयो,’ कोइरालाले भनेका छन्, 'आज नेपालका संवैधानिक निकायहरुको गरिमा र भूमिकामाथि आम नेपालीले प्रश्न उठाएका छन् भने यसको पछाडि कार्यकारीबट गरिने “मिचाहा प्रवृति” जिम्मेवार छ। राज्य संचालनका यस्ता निकायहरुमा सक्षम, योग्य र इमान्दार मानिसहरुलाई पन्छाएर “आफ्नो मान्छे” भर्ना गर्ने सामन्तवादी सोचबाट हामी कहिले मुक्त हुने?'

महिलाहरूको राजनीतिक प्रतिनिधित्व राज्यको संरचनामा तलदेखि माथिसम्म अनिवार्य गर्नाले आधा जनसंख्या भएको यो समूह राष्ट्र निर्माणको प्रकृयामा सहभागी हुने व्यवस्थाको सुनिश्चितता भएको कोइरालाले बताएका छन्।

'अग्रज पुस्ताको त्यो गौरव गाथा सदा नेपाली जनताको मानसपटलमा अमर रहिरहनेछ। वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरुलाई सम्बोधन गरेको छ,' उनले भने, 'राज्यको भूमिका र सीमामात्र होइन व्यक्तिको अधिकार र कर्तव्यलाई पनि संविधानले परिभाषित गरेको छ।'

संविधान गतिशील दस्तावेज भएकाले समाजमा उठ्ने मुद्दाहरु पनि समयसापेक्ष फरक-फरक हुनाले गतिशील समाजका मुद्दाहरुलाई संविधानले सम्बोधन गर्न जरुरी रहेको डा. कोइरालाले बताए। आज नेपालको संविधान सुधार्ने र परिमार्जन गर्ने बहस यही कारणले छलफलमा रहेको उनले प्रस्ट पारे।

उनले अगाडि भनेका छन्, 'नागरिकको सम्प्रभूतालाई मूलमन्त्र ठानेर निर्माण भएको वर्तमान संविधानको राजनीतिक आयतनले ऐन, कानून निर्माण र नीतिगत निर्णय लिने ठाउँमा सामाजिक रुपले वञ्चित भएका सबै समूहको प्रतिनिधित्व हुनु सामान्य कुरा होइन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.