|

काठमाडौं :  काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ। 

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानीकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर संकलनमा रोक लगाइएको वातावरण व्यवस्थापन महाशाखा प्रमुख कविता राईले जानकारी दिइन्। 

अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ। ‘संरचना उपयुक्त बनाए पनि फोहर संकलन र व्यवस्थापन अभ्यास भने अनुपयुक्त पाइयो।’ टोलीको नेतृत्व गरिरहेकी वरिष्ठ शाखा अधिकृत सानुमैयाँ महर्जनले भनिन्, ‘हानीकारक फोहर र सामान्य फोहरको छुट्टाछुट्टै पोका थिए। कुहिने फोहर कालो प्लाष्टिकमा र हानीकारक फोहर पहेँलो प्लाष्टिकमा पोको पारेर एकै ठाउँमा राखिएको थियो।’

‘फोहर निर्मलीकरणका लागि ३ वटा अटोक्लेभ मेसिन राखिएका थिए। यीमध्ये २ वटा विग्रिएका थिए। चलेको एउटाले पनि राम्ररी काम गरेको थिएन।’ वातावरण निरीक्षक सृष्टि श्रेष्ठले भनिन्, ‘वातावरणमैत्री त थिएन नै काम गर्ने व्यक्तिहरु सुरक्षित हुने अवस्था पनि देखिएन। फोहर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पञ्जा थिएन। चप्पल लगाएर ओहोरदोहोर गरिरहनुभएको थियो।’ 

अस्पताल पक्षले भने स्रोतमा वर्गीकरण राम्रो भएको दाबी गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.