|

पर्वत : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ बारागुरुका कृषक ताक्ला गुरुङले पालेका एक सय तीनवटा च्याङ्ग्रा चोरी गरेका व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–७ मासवारमा बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर पक्राउ परेका हुन्।

गत असोज एक गते अन्दाजी चार बजेको समयमा ताक्ला गुरुङको गोठमा फकिरसहितका तीन जना व्यक्तिहरू पुगेका थिए। उनीहरूले आफूहरू च्याङ्ग्रा खरिद गर्न आएको भन्दै करिब ४२ लाख मूल्य बराबरका एक सय तीन वटा खरिद गरेका थिए। पैसाको विषयमा शङ्का नगर्ने बन्नका लागि निजी कारमा पुगेका उनीहरूले गुरुङसँग च्याङ्ग्राको मोलमोलाइ गरे।

मूल्य मिलेपछि पैसा साथमा नल्याएको र च्याङ्ग्राका मालिक पनि आफ्नै कारमा पोखरा गएपछि पोखरामा नै भुक्तानी दिने भनी विश्वास दिलाए। फकिरसहितका व्यक्तिहरूले योजनाबद्ध रूपमा ताक्ला गुरुङलाई पनि सँगै ल्याएर पोखराको ड्यामसाइडस्थित एक होटेलमा राखे। ट्रकमा च्याङ्ग्रा ल्याउँदा खाँदिएर केही मरेकोले तिनको व्यवस्थापन गरेर आउने भन्दै ताक्ला होटेलमा सुतिरहेको बेलामा बाहिर निस्किए।

खरिदकर्ताहरू आएपछि च्याङ्ग्राको मूल्य बुझौँला भनेर बसेका ताक्ला होटेलमा कुर्दासम्म कुरिरहे तर उनीहरू फर्किएर आएनन्। तब मात्रै ताक्लालाई आफ्ना च्याङ्ग्राहरू चोरी भएको आभास भयो। उनीहरू सम्पर्कविहीन भएपछि ताक्लाले कास्की प्रहरीमा आफ्ना एक सय तीन वटा च्याङ्ग्रा चोरी भएको उजुरी दर्ता गराएका थियो।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी युनिटहरूबाट समेत खोजतलास तथा अनुसन्धान गर्दै जाँदा असोज सात गते सोमवार फरार रहेका फकिर पोखरा महानगरपालिका–४ बाट पक्राउ परे। उनीमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा छ दिनको म्याद लिएर अनुसन्धान चलिरहेको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा फकिरले उक्त च्याङ्ग्राहरू असोज दुई गते पोखरा महानगरपालिका–२५ घट्टे खोलाबाट अन्यत्र सवारी साधनहरूमा लोड गरी बिक्री वितरण गरेको भन्ने कुरा खुलाएको कास्की प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.