काठमाडौँ : सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामाको हत्या घटनामा भएको अनुसन्धान प्रतिवेदन किन नबुझाएको भन्दै फाइल पेश गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई आदेश दिएको छ।
प्रधानन्यायाधीशविश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले अर्जुन लामा हत्यामा परेको जाहेरी र हालसम्म भएको अनुसन्धानको सक्कल फाइल पेश गर्न आदेश दिएको हो।
८ वैशाख, २०७२ मा पनि सर्वोच्च अदालतले लामाको हत्याबारे उनकी पत्नी पूर्णिमाया लामाले माओवादी नेता अग्नि सापकोटा, सूर्यमान दोङलगायतविरुद्ध दिएको जाहेरीमाथि अनुसन्धान अघि बढाउनु र त्यसको प्रगति प्रतिवेदन १५‚ १५ दिनमा पेश गर्नु भनी आदेश दिएको थियो।
सर्वोच्च अदालतले आदेश दिए पनि तदनुसार प्रतिवेदन नबुझाएको भन्दै सर्वोच्च अदालतले साढे ९ वर्षपछि फेरि त्यस्तै आदेश दिएको हो।
तत्कालीन फैसलानुसार काम भए नभएको व्यहोरा १५ दिनभित्र प्रस्तुत गर्नु भनी आदेश जारी भएको अवस्थामा समेत त्यसको पालना नभएको भन्दै सर्वोच्च अदालतले फेरि प्रगति विवरण पठाउन आदेश गरेको हो।
सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन ? नभएको भए किन हुन नसकेको हो ? पूर्वादेश अनुसार नियमित रूपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको नदेखिएको हुँदा सम्पूर्ण विवरण खोली जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट जाहेरी दरखास्त सो सम्बन्धमा हालसम्म भएको कामकारबाही सम्बन्धी सक्कल फाइल पेशीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई पेश गर्नु।’
सर्वोच्च अदालतको यो आदेशसँगै १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन पूर्वसभामुख एवं माओवादी नेता सापकोटाविरुद्धको मुद्दा फैसला नगरी फेरि अनिश्चिततातर्फ गएको छ।
आफ्ना पतिको हत्यामा संलग्न माओवादी नेता सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले ८ मंसिर, २०६९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्।
पूर्णिमाया लामाका पति अर्जुन लामा काभ्रेको श्रीकृष्ण माविबाट १६ वैशाख २०६२ मा अपहरणमा परेका थिए। असारको दोस्रो सातातिर तत्कालीन बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा उनको शव गाडेको अवस्थामा भेटिएको थियो।
उक्त मुद्दा शुरुमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन। उनले सर्वोच्च अदालतमा मुद्दा हालेपछि मात्रै किटानी जाहेरी दर्ता भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।