|

चितवन : चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीय एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार २१ साउनमा अस्पतालमा भर्ना भएकी ती महिलाको २२ साउन आइतबार बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

यसअघि, अघिल्लो आर्थिक वर्षमा १ सय ९ जनामा रोग देखिएकोमा ४ जनाको मृत्यु भएको थियो। यो आर्थिक वर्ष लागेपछि स्क्रब टाइफसबाट मृत्यु भएको यो पहिलो हो। उनले जिल्लामा साउन महिनाको अहिलेसम्म २ सय ६४ जना बिरामीको परीक्षण भएकोमा ७५ जनामा टाइफस रोग लागेको पाइएको जानकारी दिए।नेपालमा विभिन्न २७ जिल्लाभन्दा बढीमा स्क्रब टाइफस रोगको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा. गुणनिधि शर्माका अनुसार ती जिल्लामा सयभन्दा बढी मानिसमा रोग देखिइसकेको छ। यो बढ्दो क्रममा छ।

उनका अनुसार सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ। ज्वरो आएपछि मेडिकलमा गएर औषधी खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको शर्मा बताउँछन्। माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ। यो रोग मुसाको कानमा बस्ने गर्छ। नेपालमा ०७२ सालमा पहिलोपटक रोग देखा परेको थियो। मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ।

यस्ता छन् यो रोगका लक्षण

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरिर पनि दुख्ने भरतपुर अस्पतालमा फिजिसियन डा भोजराज अधिकारीले जानकारी दिए। चितवनमा उक्त रोगको परीक्षणका लागि किटको समेत अभाव छ।

जिल्लामा स्वाइनफ्लुका सय बिरामी 

चितवनमा स्वाइनप्mलु भनेर चिनिनि इन्फ्लुएन्जा एचवान एनवानका सयजना बिरामी भेटिएका छन्। जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक केसीले गएको १९ जेठदेखि अहिले ९ साउनसम्मको प्राप्त प्रतिवेदनअनुसार १ सय ३७ जना बिरामीको परीक्षणमा यसरी एनवान एचवान फेला परेको जानकारी दिए। उनले केही दिनअघि मात्रै रिपोर्ट आएको बताए।

भरतपुर अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेको भन्दै अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले प्mलु ए पोजिटिभका बिरामीसमेत आइरहेको बताए। उनले प्mलु ए लागेका बिरामीमा ए एचवान एनवानको बढी जोखिम हुने पनि सुनाए।

यसरी आएका विरामीको नमुना थप परीक्षणका लागि काठमाडौं पठाउने गरिएको डा. अधिकारीले जानकारी दिए। उनले बढी गर्मी र पानी पर्ने मिक्स समयमा यस्ता खालको बिरामी बढी आउने गरेको जानकारी दिए।

स्वाइनफ्लु लागेका बिरामीमा सुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने तथा अन्य रोगको संक्रमण भएकाहरुलाई बढी असर गर्ने चिकित्सकले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.