काम गरौंँ‚ मुटु बचाऔँ
काम गरौंँ‚ मुटु बचाऔँ
काठमाडौँ : काठमाडौँकी ३५ वर्षीया लक्ष्मी शर्मालाई (नाम परिवर्तन)लाई हिँड्न गाह्रो हुने, छाती दुखिरहने, वेला/वेलामा रक्तचाप बढ्ने र मुटुको ढुकढुकी बढ्ने समस्या देखिएपछि चिकित्सकलाई देखाउन पुगिन्। परीक्षणपछि उनलाई मुटुको चालमा गडबड भएको पुष्टि भयो।
बालाजुमा रहेर व्यवसाय गर्दै आएका धादिङका ३२ वर्षका राम पौडेल (नाम परिवर्तन)लाई राति सुत्दा अप्ठ्यारो हुने, श्वास फेर्ने गाह्रो भएजस्तो हुने भएपछि परीक्षणका लागि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुगे। चिकित्सकले हृदयघातको लक्षण भएको हुँदा आकस्मिकमा राखेर उपचार गरे। समयमै आएको कारण सम्भावित हृदयघातको जोखिमबाट जोगिएको चिकित्सकले उनलाई बताए।
यी प्रतिनिधि घटना मात्रै हुन् पछिल्ला वर्षहरूमा नेपालमा मुटुसम्बन्धी स्वास्थ्य समस्या भएका विरामी बढ्दै गएका छन्। अझै डरलाग्दो विषय त केही वर्षअघि सम्म बुढ्यौली उमेरमा लाग्ने रोग भनेर चिनिने मुटुरोग अहिले आएर २५/३० वर्षका युवाहरू समेत मुटु र मुटुसम्बन्धी रोगले पीडित भएका छन्।
बदलिदो जीवनशैली र खानपानले पछिल्ला वर्षहरूमा नेपालमा नसर्ने रोग पनि जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै गएको छ।
विशेषगरी खानपान, विलासीपूर्ण जीवनशैलीले मधुमेह, मुटु र मुटुजन्य अन्य स्वास्थ्य समस्या हुन्।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा हाल ३० प्रतिशत अर्थात् करिब १ करोड जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन्। मुटु रोगीको संख्या नेपालमा २० वर्ष यता ५ गुणाले बढेको छ।
यस्तै नेपाल एनसीडी एलायन्सका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २५ प्रतिशतलाई कोलेस्टरोल छ, १० प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ मुटु रोग छ। ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन्। शहरी क्षेत्रमा बस्ने करिब ५० नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन् जुन मुटुजन्य स्वास्थ्य समस्याको प्रमुख कारकतत्त्व मानिएको छ।
यस्तै देशभरबाट स्वास्थ्यसम्बन्धी तथ्यांक संकलन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) विवरणअनुसार अघिल्लो एक वर्षमा नेपालमा कार्डियो भास्कुलरका विरामीको संख्या नेपालमा १९ हजार २६२ जना देखाएको थियो।
हृदय रोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा मुटुसम्बन्धी स्वास्थ्य समस्यामध्ये विशेषगरी कोरोनरी मुटुको रोग, बाथ मुटुको समस्या, जन्मजात मुटुका समस्या, उच्च रक्तचाप र हृदयघात हुने विरामी धेरै छन्।
मुटुका रोगमध्ये कोरोनरी मुटुको रोग र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गइरहेको देखिन्छ र यसको प्रमुख कारणका रूपमा मानिसहरूको जीवनशैलीमा आएको अस्वस्थकर खानपान मानिएको छ।
किन बढ्दै छ मुटु रोग?
खानपान र तनावपूर्ण जीनवनशैलीले गर्दा मुटुरोगका विरामी बढ्दै भएको बताउँछन् वरिष्ठ मुटु, फोक्सो तथा नसा रोग विशेषज्ञ डा. सञ्जीतकुमार शाह। ‘मुटुरोगको प्रमुख कारण भनेकै खानपान हो किनभने अव्यवस्थित खानपानको कारण मोटोपन बढ्दै जान्छ। यसले मधुमेह र उच्च रक्तचापको समस्या देखाउने सम्भावना हुन्छ। यी दुवै मुटुरोग निम्त्याउने प्रमुख कारण हुन्। अर्कोतर्फ अहिले मुटु सम्बन्धी समस्या निम्त्याउने अर्को कारण वातावरणीय कारण पनि देखिन थालेको छ‚ प्रदूषित वातावरण पनि मुटुरोगको कारण बढ्न थालेको छ’‚ डा. शाहले भने।
बदलिँदो जीवनशैली र खानपान पछिल्लो समय मुटु रोग बढ्दै जानुको मुख्य कारण हो। धुम्रपान, मद्यपान, कोलेस्टरोल, ब्लड प्रेसर बढ्नुलगायत पनि यसका कारक हुन्। थोइराइड, सुगर, बढ्दो मोटोपन पनि मुटु रोग बढ्दै जानुका कारण रहेको डा. ओममूर्ति अनिल बताउँछन्। उनले भने, 'पछिल्लो समय जसरी मानिसको जीवनशैली र खानपान बढेको छ। यसले मानिसलाई मोटोपनदेखि उच्च रक्तचाप बढाइरहेको छ। यो नै मुटुरोग बढ्नुको मुख्य कारण हो।'
नुनको सेवन कम, चिल्लो खानेकुरा कम खाने तथा नियमित व्यायाम गर्ने र वेला वेलामा स्वास्थ्य परीक्षण गर्न सकिए मुटुसम्बन्धी समस्याबाट बच्न सकिने अर्का मुटुरोग विशेषज्ञ डा डा चन्द्रमणि अधिकारीको भनाइ छ। ‘नुनको मात्रा कम सेवन गर्ने, चिल्लो खानेकुरा कम खाने तथा नियमित व्यायाम गर्ने र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न सकियो भने मात्रै पनि मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ‘‚ डा. अधिकारीले भने।
“काम गरौँ, मुटु बचाऊँ” भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ। प्रत्येक वर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने चलन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।