काठमाडौँ : काठमाडौंमा पिउन प्रयोग गरिने पानीका २१ वटा नमूनामध्ये ११ ब्राण्डका पानीमा फेकल कोलिफर्म रहेको पुष्टि भएको छ।
भदौ १२ गतेदेखि २८ गतेबीच विभिन्न स्थानबाट २० वटा पानीको नमूना लिइएको थियो। यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।
यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फेकल कोलिफर्म देखिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले ती ११ ब्राण्डका पानी बिक्री वितरणमा रोक लगाएको छ।
प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ युनिट (सिएफयू) मापदण्डविपरीत देखिएको हो। कोलोनी फर्मिङ युनिट (सिएफयू) सूक्ष्म जीवाणुको अवस्था हेर्न प्रयोग गरिने युनिट हो।
परीक्षणका क्रममा फेकल कोलिफर्म भेट्टाएपछि हरेकको बिक्री वितरणमा रोक लगाउँदै महानगरले ११ वटै पानी कम्पनीविरुद्ध २ लाख रुपैयाँ जरिमाना तिराउन भनेको छ।
कोलिफर्म भेटिएको ब्राण्डका पानीकै नमूना पुनः सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउनसमेत महानगरले निर्देशन दिएको छ।
यसरी बुझाइएको प्रतिवेदनमा फेकल कोलिफर्म शून्य देखिएपछि पानी बिक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ।
खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ।
फेकल कोलिफर्म दिशामा पाइन्छ। दिशामा पाइने सूक्ष्मजीव पानीमा भेटिएमा त्यस्तो पानी पिउन अयोग्य मानिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।