|

काठमाडौं : तीन दिनको अविरल वर्षाले ठूलो मानवीय क्षति भएको छ। करिब २ सय नागरिकले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन्।

वर्षापछि आएको बाढी र पहिरोले देशका सडक सञ्जालहरू आंशिक क्षति पुगेको छ। केही सडकहरू खुले पनि धेरै सडकहरूमा अहिले पनि सवारी सञ्चालन गर्न अफ्ट्यारो स्थितिमा छन्।

बाढीले ठूलो क्षति भएको अर्को क्षेत्र हो ऊर्जा। वर्षा बाढी र पहिरोले नेपालका साना ठूला जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा अर्बौँको नोक्सान भएको छ। ऊर्जा मन्त्रालयका अनुसार करिब २६ जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब दुई अर्ब ४५ करोड रूपैयाँ क्षति भएको प्रारम्भिक अनुमान छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले बाढीका कारण आयोजनाहरूको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको जनाएको छ। मन्त्रालयले दिएको तथ्यांकअनुसार  कुल ६२५.९६ मेगावाटजडित विद्युत क्षमताको ११ वटा संचालनमा रहेका जलविद्युत आयोजनाहरूमा क्षति भएको छ।

त्यस्तै,  आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरूको उत्पादन बन्दसमेत रहेअनुसार करिब ८५० मे.वा. बराबरको उत्पादन रोकिएको मन्त्रालयले थाहाखबरलाई जानकारी दियो।

त्यस्तै  कुल १०१०.२९ मे.वा. जडित विद्युत क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

उत्पादन प्रसारण र वितरणमा क्षति

मन्त्रालयका अनुसार उत्पादतर्फ २६ वटा, प्रसारणतर्फ तीन वटा र सातै प्रदेशका हाइटेन्सन लाइनमा क्षति पुगेको जनाएको छ। उत्पादनतर्फ अपर तामाकोशी, उपर त्रिशूली, बागमती साना, तल्लो हेवा खोला, हेवा खोला ए, सोलु दूधकोशी. माईखोला, सिउरी खोला, सुपर न्यादी, इलेप खोला, हेवा खोला, समाखोला बी र सी, लान्दुक मोदी, सुपर त्रिशूली, लाङटाङ खोला, खानी खोला, तुङ्गुन ठोस्ने, मायाखोला, लाप्चे खोला, भोटेकोशी-१, तल्लो सोलु, तनहुँ र रसुवा भोटेकोशी जलविद्युत आयोजनामा क्षति पुगेको छ।

त्यसैगरी, प्रसारणतर्फ काबिद्यी कोरिडोरअन्तर्गत  दमक-गोदक १३२ केभी प्रसारण लाइन, खिन्ती-लामासांगु १३२ केभी प्रसारण लाइन र सोलु करिडोरमा क्षति पुगेको छ।  त्यसैगरी सातै प्रदेशमा पनि विद्युतका विभिन्न पोलहरू ढल्दा विद्युतमा क्षति पुगेको छ।

त्यस्तै, सातै प्रदेशका विभिन्न वितरणतर्फ पनि क्षति पुगेको छ। बाढी र पहिरोले बागमतीमा ३९४ हाइटेन्सन लाइनमा क्षति पुगेको छ भने ३७२ लोटेन्सनमा क्षति पुगेको छऽ ट्रान्सफरमरका १५ वटामा क्षति पुगेको छ। त्यस्तै, कर्णालीका २१२ हाइटेन्सन, २६० लोटेन्सन र ४ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ।

त्यसैगरी, मधेशका १४८ वटा हाइटेन्सन, १८० वटा लोटेन्सन र २ वटा ट्रान्सफरमरमा क्षति पुगेको छ। कोशीमा १८२ वटा हाइटेन्सन, १६१ वटा लोटेन्सन र ३ वटा ट्रान्सफरमरमा क्षति पुगेको छ।

यस्तै लुम्बिनीका ४१ हाइटेन्सन, १०२ वटा  लोटेन्सन र ४ वटा ट्रान्सफरमरमा क्षति पुग्दा  गण्डकी १५ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेशका ४२ वटा हाइटेन्सन, ३७ वटा लोटेन्स र ८ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ।

विद्युत् आपूर्ति गर्न भारतबाट बिजुली आयात

बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका विद्युत् आपूर्ति बन्द भएका छन्।  वर्षासँगै आएको पहिरोले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमाना नाल्दीमा रहेको विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नुपरेको हो।

पहिरोले सडकसमेत अवरुद्ध हुँदा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए। नाल्दीमा गाडिएको ११ केभी ‘डबल सर्किट’ ११ मिटरका नौ थान स्टिल विद्युत् खम्बा ढलेर प्रयोग गर्न नसकिने गरी क्षति भएको रेग्मीले बताए। 

त्यस्तै, लहान नगरपालिका–२ मिलनचोका तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रुख ढल्दा विद्युतको तारमा क्षति पुगेको थियो। यसबाट  करिब २० घरपरिवारमा प्रभावित भएका छन्। 

विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन्। बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो। ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन्।
 
विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम बन्द भएका छन्। मोबाइल चार्ज गर्न समस्या हुँदा सेवाग्राही प्रभावित भएका छन्। विद्युत् अवरुद्ध सेवा हुँदा सानाठूला उद्योग समस्यामा परेका छन्।  

बाढीले काबेली करिडोर एक सय ३२ किलोभोल्ट (केभी) प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख विजुलीप्रसाद यादवले बताए। 

यता नेपालमा उत्पादित विद्युत्गृहहरूमा बाढीपहिरोले क्षति पुगेपछि भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ।

अधिकांश विद्युत् कम्पनीहरूले बाढी बढ्न थालेपछि विद्युतगृहमा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानमा सारेका छन्।  नेपालमा तीन हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुँदै आएकामा दुई दिनको बाढीपहिरोले क्षति पुगेपछि अहिले एक हजार ३०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.