|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्तिका लागि ३ जनाको नाम सिफारिश भएको छ। डिन नियुक्त गर्न  गठित समितिले त्रिवि कार्यकारीसमक्ष ३ जनाको नाम सिफारिश गरेको हो।

समितिले आइतवार लिएको कार्ययोजना प्रस्तुतिसहितको अन्तर्वार्तापछि अहिलेकी डिन प्राडा दिव्यासिंह शाह, प्राडा मोहनराज शर्मा र प्राडा सुधा बस्नेतको नाम सिफारिश गरिएको आईओएम स्रोतले जनाएको छ। 

आइतवारको अन्तर्वार्ताबाट सिफारिशमा परेका ३ जनासहित अल्पसूचीमा परेका अरु दुईजना प्राडा अभिमन्यु झा, प्राडा उत्तमकुष्ण श्रेष्ठ सहभागी थिए। अब कार्यकारी परिषदमा सिफारिश भएका ३ जनामध्ये एकजनालाई सरकारले डिनमा नियुक्त गर्नेछ।

हालकी डिन प्राडा शाहको ४ वर्षे पदावधि सकिएपछि संस्थानमा डिन नियुक्तिका लागि त्रिवि कार्यकारी परिषदले डिन नियुक्तिका लागि नाम सिफारिश गर्न ३२ साउनमा प्राडा कृष्णकुमार ओलीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो।

जसमा अध्ययन संस्थानकै प्राडा सुवास आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका थिए। संस्थानको नयाँ डिनका लागि १३ जना प्राध्यापकको निवेदन परेको अध्ययन संस्थान स्रोतले जनाएको छ।

स्रोतका अनुसार हालकी डिन प्राडा शाहदेखि पूर्वडिन तथा आईओएमअन्तर्गत रहेको त्रिवि शिक्षण अस्पतालका प्राडा दिनेश काफ्ले र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका पूर्व निर्देशकसम्मको निवेदन परेको पाइएको छ।

जसमा डिन पदका लागि आवेदन दिनेहरूमा प्राडा अभिमन्यु झा, प्राडा मोहनराज शर्मा, प्राडा निरजु रञ्जित, प्राडा रामचन्द्र अधिकारी‚ प्राडा रमेशसिंह भण्डारी‚ प्राडा मिथा राना, सह-प्राडा ज्योतिबाबा श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा रत्नमणि गजुरेल र प्राडा सुधा बस्नेतले डिनका लागि आवेदन दिएका  थिए। 

उनीहरुमध्येबाटै डिन नियुक्त गर्न सिफारिश गर्नका लागि गठित समितिले ५ जनाको नाम  छनोट गरी उनीहरुको कार्ययोजना हेरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.