पोखरा : जिल्ला अदालत बागलुङले सहकारी ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलवार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
शुक्रवार भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतवार बागलुङ लगिएको थियो। बागलुङ प्रहरीले उनलाई सोमवार जिल्ला अदालतमा उपस्थित गराएको थियो। सोमवार उनको बयान सकिएपछि अदालतमा मंगलवार थुनछेक बहस भएको थियो।
इमेज बचत तथा ऋण सहकारी बागलुङका संस्थापक अध्यक्षसमेत रहेका नेपालीविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि फरार नेपालीविरुद्ध गएको माघमा रेड कर्नर नोटिस जारी भएको थियो।
सोही मुद्दामा उनीसँगै अदालतमा थुनछेक बहस भएका ओमप्रसाद दर्जीलाई भने अदालतले १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। बागलुङ र पोखरामा एउटै नाम इमेज बचत तथा ऋण सहकारी खोली नेपालीको संलग्नतामा रकम अपचलन भएको संसदीय छानबिन समितिसहितका छानबिनले देखाएका छन्।
अदालतमा बयानका क्रममा नेपालीले रकम फिर्ता गर्न खोज्दाखोज्दै नसकेको र अब आफ्नो सम्पत्ति बेचेरै भए पनि फिर्ता गर्न तयार रहेको बताएका थिए।
इमेज सहकारी बागलुङमा करिब डेढ अर्ब र इमेज पोखराबाट ६५ करोड रुपैयाँ हिनामिना भएको छ। देवबहादुर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्वअध्यक्ष पनि हुन्।
सूर्यदर्शनको नेतृत्व गर्न नपाएपछि इमेज सहकारी खोल्नुअघि नै रकम हिनामिना गरेको अभियोगमा कास्कीमा पनि उनीविरुद्ध मुद्दा विचाराधीन छ। बागलुङको थुनछेक बहसपछि नेपालीलाई कास्की ल्याउने तयारी प्रहरीको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।