|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पानीको शुद्धिकरण गरी वितरण गर्न आवश्यक भएको बताएका छ।

बुधवार स्वास्थ्य मन्त्रालयमा उपत्यकाका मेयर फोरमसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले खानेपानी मन्त्रालयसँग समन्वय गरी साझा विषयमा काम अघि बढाउने बताए। 

उनले विपद्को बेलामा खानेपानी शुद्ध नभए त्यसले निम्त्याउने जोखिम डरलाग्दो हुने भन्दै खानेपानी शुद्ध भए/नभएको परीक्षण गर्ने संयन्त्र बनाइ अनुगमनको विषयलाई प्रभावकारी बनाइने बताए। 

उनले पानी शुद्धिकरणका लागि सरकारबाट परिचालन गर्ने संयन्त्र र आवश्यक पर्ने साधन, स्रोतहरुको व्यवस्थापन गर्ने बताए। 

‘साझा विषयको सन्दर्भमा हामीले यसलाई व्यवस्थित बनाएर अगाडि लैजान खोजेको हो। यसमा मुख्यगरी पानीको शुद्धिकरण कसरी गर्न सकिन्छ, हाम्रो मुख्य विषय त्यो हो‚’ उनले भने, ‘पानीको शुद्धिकरणका लागि हामीले परिचालन गर्ने संयन्त्र र त्यसको निम्ति आवश्यक पर्ने साधन, श्रोत केले कसरी शुद्धिकरण गर्ने हो? कसले कसरी गर्ने भन्ने पनि व्यवस्थित हुनुपर्छ।’

उनले शुद्ध पानी पिउन र उमालेर मात्रै पानी पिउनका लागि जनचेतना फैलाउनुपर्ने बताउनु भयो। उनले खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा व्यक्ति र मिति तोकेरै समन्वय गर्ने समूह बनाइ काम अघि बढाउने बताए। 

उनले ट्यांकरको पानीमा न्यूनतम पानी शुद्धिकरणका उपाय अपनाएको छ वा छैन भन्नेबारे मापदण्ड तोकेर निगरानी राख्नुपर्ने बताए। 

‘ट्यांकरले पानी वितरण गर्दा उसले न्यूनतम पानी शुद्धिकरणका निम्ति के गर्नुपर्ने हो, त्यसको मापदण्ड तोकिनुपर्छ। ‚’ उनले भने, ‘पानी उमालेर शुद्ध पानी खान जनचेतना विस्तार गर्नुपर्छ। २१ जिल्ला, वागमती प्रदेश र उपत्यकामा बढी प्रभाव परेको छ।’

मन्त्री पौडेलले पानी जम्मा गरिएका ट्याङ्कीमा पानी शुद्धिकरणका लागि आवश्यक संयन्त्र परिचालन गर्ने बताए। उनले पानीको सप्लाई संयन्त्रको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.