आजकल देशमा आउँदैन दशैँ
घरआँगनमा आइपुग्दैन दशैँ
दशैँ त परदेशमै छुटे
तिहार पराई देशले लुटे
हर्कमान गन्धर्वको झुपडी रित्तो छ
हरिहर पण्डितको भत्किएको भित्तो छ
राजधानीको पनि उस्तै हाल छ हजुर
पूर्णबहादुर मल्लको महल खाली छ
आजकल गाउँ पनि परदेशमै छन्
शहर पनि पराई देशमै अलपत्र छन्
बाख्राको पाठो मात्रै बलि चढेको हैन
मान्छेका बालखा पनि बलि चढेका छन्
यहाँ सन्तानका बाल्यकाल बलि चढे
बाआमाका बुढेसकाल बलि चढे
दिदीले सजाइदिने निधार बलि चढे
श्रीमतीको सिउँदो बलि चढ्यो
जब घरको छोरो
पहिलो पटक जहाज चढ्यो
देशमा आउँदैन दशैँ
दशैँ पराई देशले लुटे
तिहार परदेशमै छुटे
न राजा हटे
न राजतन्त्र नै हट्यो
न सामन्ती हटे
न समानता नै आयो
राजा हटेनन्
राजाका छोराछोरी मात्रै हटे
अनि
नयाँ राजा आए
भनौँ
नयाँ राजाहरू आए
जनताकै छोराछोरी नयाँ राजा भए
तर जनता भने
दास का दास नै रहे
सिंहदरबारले यहाँ
जुम्लाकै मार्सी भात खाइरहँदा
उता जुम्लालाई भने
खानलाई चामलको गेडोसम्म हुन्न
निधारमा लगाउने चामल खोज्नुपर्छ
भोक लाग्दा
चपाउने मकैको दानासम्म हुन्न
शिरमा सजाउन जमरा खोज्नुपर्छ
खानलाई चामल नपाउनेले
टीका लगाउन चामल खोज्नुपर्छ
शिरमा सजाउन जमरा खोज्नुपर्छ
आशिषले मात्रै कहाँ पुग्छ र हजुर
दशैँ मनाउनलाई दक्षिणा खोज्नुपर्छ
बाउको हैसियतलाई बारम्बार प्रश्न सोध्नुपर्छ
यहाँ दशैँ मनाउनलाई दक्षिणा खोज्नुपर्छ
आमाका काखहरू बेचिनुपर्छ
श्रीमतीका मङ्गलसूत्र बेचिनुपर्छ।
त्यसैले
ऊ आज
आफ्नो निद्रा बेचेर सपना किन्दै छ
आफ्नै गला बेचेर गहना किन्दै छ
ऊ आज
आफ्नै हत्केला बेचेर हातका रेखा किन्दै छ
दुनियाँ
दुनियाँ आफ्नो बनाउन
दुनियाँलाई किन्न सक्नुपर्छ
ऊ आज
आफ्ना रहर बेचेर अरूका चाहना किन्दै छ
ऊ आज आफैँलाई बेचेर आफ्ना किन्दै छ
यहाँ पटक पटक मिर्गौला पाइँदा
त्यहाँ एक पत्ता सिटामोल पनि पाइँदैन
यता मधुरसका खोलाहरू बगिरहँदा
उता एक चुस्की जीवनजल पनि बग्दैन
दशैँ आउँछ, तिहार आउँछ
कहिल्यै चाड जस्तो लाउँदैन
दुःख आउँछ कष्ट आउँछ
कहिल्यै खुसी आउँदैन
डाक्टर सा’ब भन्नुहुन्छ-
माछा मासु खुवाउ बच्चालाई
अभावले सुकेकी आमाको छातीबाट
उसले
एक सर्को दूधसम्म पाउँदैन
पिङ हालेका चौतारा हेर
कति सुनसान छन्
झन्डी बुर्जा खेलाउने
गोरेटा गुमनाम छन्
फिक्का लाग्छ देउसी
न पहिलेझैँ संगीत छन्
न पुराना यार छन्
न पहिलेझैँ मीत छन्
न पहिलेका प्रीत छन्
शहरका बाटा उसैलाई कुरिरहन्छन्
गाउँका पाखा उसैलाई खोजिरहन्छन्
गाउँका पधेरा उसकै प्यासमा तड्पिरहेछन्
शहरका अँधेरा उसकै आशामा भड्किरहेछन्
शरदका बिहानी उसैलाई पर्खिरहन्छन्
गोधूलिका साँझ उसकै यादमा रोइरहन्छन् (२)
छोरा
कुनै दिन मनाउला दशैँ
जब दशैँ आफ्नै देशमा आउला
न ऋण ल्याउला
न दशा ल्याउला
जुन दिन
आफ्नै भेषमा आउला
छोरा
जुन दिन फर्केर तिमी
स्वदेशमा आउला ।
(डा. बस्ताकोटी जनरल सर्जरी विभागअन्तर्गत त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सक हुन्।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।