काठमाडौँ : “तपाईंहरू हामीलाई राहत दिन आउनुभएको हो?” बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो।
“होइन नी हामी त तपाईंहरूको अवस्थाबारे रिपोर्टिङ गर्न आएको।” यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भनिन्, “ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी।” काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो की भन्ने आशाले उनी बाटो कुरिरहेकी छिन्। तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भनिन् “अरु पनि आउँछन् यसरी नै। सोधेर जान्छन्। तर कोही राहत लिएर आउँदैनन्।”
सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उनको गुनासो छ। “आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोइरहन्छिन्”, माझी भन्छिन्, “अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरू मान्दैनन्। रुन्छन्। के गर्नु?” बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो। न बासको ठेगान छ, न गासको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उनले भनिन्, “बाढीले त बचायो, भोकले पो मरिन्छ कि क्या हो।”
सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो की भन्ने आशा लाग्दोरहेछ। अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला? भन्ने चिन्ताले सताउने गरेको दुखेसो उनले सुनाए। “अहिले त न बस्ने बास छ, न खानका लागि गास छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला। तर मुख्य खानेकुरै भएन”, उनले भने, “नखाएर कति दिन बिताउन सकिएला ?”
अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो झैँ लाग्छ, उनलाई। “अरु ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौँ नी”, माझी भन्छन्, “पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौँला। बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजेँ तर कसैले पत्याएनन्।” कोठा भाडा तिरेर बस्छु भन्नेहरूका लागि कतै कोठा नभएको उनले सुनाए। “भए पनि एक्कासी महँगो बनाएका छन्”, माझी भन्छन्।
सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै थिए। केही थान भाँडा भेटिएछ। अरु त सबै भेलसँगै बगाएर लगेछ। “कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि,” उनी भन्छिन्, “सबै लग्यो बाढीले। धन्न ज्यान त बच्यो।”
माझी पनि राहत आउला कि भन्ने आशामा बसिहेकी छिन्। “बाढीले ज्यान त बचायो। खान नपाएर मर्न चाहिँ नपरोस्”, उनले भनिन्, “बच्चा छ। भोकाउँछन्, रोइहाल्छन्। के गर्नु।” आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीया छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, “पत्रकार अन्टी हाम्रो त घरै बगायो। मेरो किताब, कापी, लुगा सबै बगायो नी।”
फूलबारीमार्गकै नदी किनारामा बस्दै आएकी छिन् गङ्गा थापा पनि। उनले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गरेकी थिइनन्। “रातको ३ बजेको थियो, शौचलालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ। तीन छोराछोरी र श्रीमान्लाई पनि ब्युँझाए। भागाभाग भयो”, थापा भन्छिन्, “एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नी। धन्न भाग्यले बाँचियो।”
मानिसबाहेक सबै चिजहरू बगाएर लगेपछि उनलाई पनि खान, लाउन र बस्न धौधौ भइरहेको छ। अरुको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आएकी थापा लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न गाह्रो भइरहेको गुनासो सुनाउँछिन्। उनको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहेका छन् र डोलेश्वर स्कुलको पेटीमा बास बसिरहेका छन्।
वडा नं २५ नै बस्ने सीता थापामगरलाई आजभोलि कोही मानिस आएर राहत दिए पनि हुने झैँ लाग्छ। “हामी भएको ठाउँमा कोही नआउन्। रित्तो हात त कोही पनि नआए नी हुन्थ्यो झैँ लाग्छ। राहत लिएर चाहिँ कोही किन आउँदैनन्?”, उनले भनिन्। इन्दिरा सिञ्जाली मगर पनि खानेकुरा, पिउने पानी, बस्ने बासको अभावले जीवन नै कष्टकर बन्दै गएको गुनासो गर्छिन्।
ललितपुरस्थित नख्खुको मेडिसिटी हस्पिटलको बायाँपट्टी साइडमा टेकमाया श्रेष्ठको घर छ। शुक्रवार रातको २ बजेतिर हल्लाखल्ला मच्चियो। के भएको रहेछ भनेर उठेर हेर्दा टोलैभरि नख्खु खोला छिरिसकेछ। भागेर बाहिर जान ठाउँसमेत नभएपछि सबै जम्मा भएर छतमा बसेको उनी सुनाउँछिन्।
ललितपुरका यी क्षेत्रहरू मात्रै होइन, गोदावारी नगरपालिकामा पनि असर पुगेको छ। नगरपालिकाको उपप्रमुख मुना अधिकारीलाई पिडितहरूले गरेको फोन उठाउन आजभोलि भ्याइनभ्याइ छ।
उपप्रमुख अधिकारीले विपद्पछिको उद्धार तथा राहतका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको बताइन्। “चाँडोभन्दा चाँडो राहत व्यवस्थापनका लागि लागि हामीले समन्वय गरिरहेका छौँ, सर्वसाधारणको गुनासा सम्बोधनका गर्न लागिपरेका छौँ” उनले भनिन्।
दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेल मानिखेललगायतका क्षेत्रहरूलाई पनि बाढी पहिरोकै कारण तहसनहस बनाएको छ। हराबरा क्षेत्र एक्कासी बगरमा परिणत भएको छ। बाढी, पहिरोका कारण बाटो नै पुरिदिएपछि उक्त क्षेत्रमा राहत तथा उद्धारका लागि जान समेत नसकिने अवस्था भएको बताउँछन् ललितपुरस्थित महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले राहत विरणका काम सुरु भइसकेको जानकारी दिए। समयमा नै खाद्यान्न तथा स्वच्छ खानेपानी पीडितले नपाउँदा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने बताउँछन् जनस्वास्थ्यविद् डा. समिर अधिकारी।
वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी पनि नागरिकको मौलिक हकका रुपमा रहेको गास, बास र कपासको आवश्यकता तत्काल पूरा नगरे उनीहरूको नैसर्गिक अधिकार हनन् हुने बताएँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।