काठमाडौँ : मुलुकका विभिन्न ठाउँमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु. २० अर्बदेखि २५ अर्ब लाग्ने अनुमान गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाको स्थायी रूपमा सुधार्न त्यति बजेट आवश्यक भएको जनाएको छ। मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवं यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलव्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताए।
‘विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवं जोखिम कम गर्न अत्यावश्यक काम बाहेक यात्रा नगर्न र गर्नैपरे सावधानी र सतर्कता अपनाउन अनुरोध गरिएको छ’, उनले भने, ‘असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ गरेर यात्रुलाई सुरक्षित ढङ्गले प्राथमिकता दिई यात्रुलाई गन्तव्य स्थलमा पुर्याउन यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको छ।’
काठमाडौँबाट छुट्ने यात्रुवाहक बसलाई उज्यालो छँदै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको उनको भनाइ छ। मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ।
प्रारम्भिकअनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालू गर्न मात्र रु. तीन अर्ब लाग्ने देखिएको छ। मन्त्रालयका सचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका ८०५ ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकोमा ७७४ ठाउँको पहिरो हटाउने काम सकिएको बताए।
‘२९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिसकिएको छ। अझैसम्म पाँचवटा मुख्य राजमार्गका ३१ ठाउँमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी छ’, उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।