|

काठमाडौँ : यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन्। 

आजसम्म एक सय ७८ घाइते भएका छन्। १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ। सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ। बागमतीमा मात्रै एक सय ३९ को मृत्यु भएको छ।

मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ। प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले बताए। ​मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ। 

आपतकालीन राहत, पुनःनिर्माण र पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनःनिर्माणलाई गति दिन निर्देशन दिएका उनले बताए।

विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ। 

लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.