काठमाडौं : हिन्दु धर्मावलम्बीको महान् चाड बडादशैँको माहोलमा छौँ हामी। शहर चोकदेखि गल्लीगल्लीका बजारमा दशैँको किनमेल तीव्र छ। परदेशमा रहेकाहरू देश फर्किने र शहर पसेकाहरू गाउँ फर्किने क्रम बढेको छ।
दशैँको चटारो घर गाउँमा शुरू नहुँदै सिनेमा हलमा भने दशैँको मुखमा सिनेमा रिलिज गर्ने र एकअर्काबीच भिड्ने पक्कापक्की भइसकेको छ।
यसै पनि नेपालमा नयाँ वर्ष, दशैँ, तिहार, माघेसंक्रान्ति जस्ता चाडपर्वमा नेपाली सिनेमाहरूको प्रदर्शनको प्रतिस्पर्धा चल्छ। किनभने चाडपर्वमा सिनेमाले अन्य वेलाभन्दा बढी व्यापार गर्ने नेपाली ‘फिल्म मेकर’को बुझाइ छ।
यो वर्ष पनि नेपाली सिनेमाका धेरै सिनेमा जुध्ने तर्खरमा छन्। यसरी जुध्दा सबै सिनेमालाई घाटा हुने पक्कापक्की छ। किनभने दर्शक बाँडिनु व्यापारिक हिसाबले सुखद होइन। यो वर्षको दशैँमा तीन सिनेमाले नेपाली हलहरू भरिनेछन्। जसमा ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ छन्।
दीपक-दीपाको ‘छक्का पञ्जा ५’, नायक विराज भट्टको ‘१२ गाउँ’ र जितु नेपालको ‘ज्वाइँ साब’ फूलपातीमा एकसाथ भिड्ने छन्। यी तीनमध्ये कसले बाजी मार्ला, त्यो हेर्न दशैँ कुर्नै पर्छ।
छक्का पञ्जा- ५
चर्चित फिल्म छक्का पञ्जाको सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा छक्का पञ्जा-५ रिलिज हुँदैछ। यसअघिका सिनेमाले राम्रो ‘हाइप’ लिएपछि यो टिम आफ्नो सिनेमा चल्नेमा ढुक्क छ। अहिले रिलिज भएका दुई गीत ‘बिहे भएको छैन’ र ‘ब्रेकअप’ गीत चौतर्फी आलोचना र चर्चामा रहेको छ।
यी गीतले सिनेमाको व्यापारमा कस्तो व्यापार गर्ला त्यो भने प्रदर्शनको मिति कुर्नै पर्छ।
केही दिन अगाडि सिनेमाको ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सिनेमा कमेडी, राजनीतिक विषयवस्तु र पारिवारको वरिपरि घुमेको देखाएको छ।
दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ भने फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन्।
१२ गाउँ
कुनै समय नेपाली सिनेक्षेत्रमा राज गरेका विराज भट्टको सिनेमा ‘१२ गाउँ’ यतिवेला चर्चा छ। सिनेमालाई भट्टको निर्माण तथा निर्देशन गरेका हुन्। उनले छोरा समीर भट्टराई यो सिनेमाबाट ‘डेब्यू’ गराएका छन्। अहिले सिनेमाको ‘सिनेमा हेर्न जाउँ’ भन्ने गीत चर्चामा छ।
एक्सनले भरिपूर्ण सिनेमामा '१२ गाउँ' नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा ट्रेलरमा देखाइएको छ।
विराजले छोरालाई कस्तो रूपमा प्रस्तुत गरेका होलान्, दर्शकलाई चासो छ। सिनेमामा भट्टका अलावा न्यान्सी खड्का, सनिशा मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्केलगायतको अभिनय छ।
ज्वाइँ साब
दीपक-दीपाको टिममा रहेका जितु नेपाल यतिबेला ‘ज्वाइँ साब’बाट पुन: चर्चामा छन्। छक्का पञ्जामा सिरिजमा नछुट्ने नेपाल अहिले भने बेग्लै सिनेमामार्फत छक्का पञ्जा समूहसँग भिड्न लागेका हुन्।
यो सिनेमाको पनि ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा गोवर्द्धन पण्डित नामक एक गाउँको अर्धबैँसे पात्रको कथा देखिन्छ। उसको विवाह हुन सकेको छैन। त्यसैले योग्य वधुको खोजीमा छ।
एक दिन रेडियोमा एक प्रतियोगिता जिते श्रीमतीसहित सम्पत्ति पाइने सूचना बज्छ। श्रीमती र सम्पत्तिको लोभमा रेडियो सुनेपछि गोवर्द्धन र उसका साथीले प्रतियोगितामा भाग लिन्छन्। कथा त्यसपछि के हुन्छ? हलसम्म पुग्नुपर्छ।
सिनेमामा रहेको ‘कसम बत्तीको’ गीत यतिवेला खुबै चर्चामा छ। धेरै दर्शकले मन पराएका छन्। सिनेमामा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे लगायतको मुख्य भूमिका छ।
सिनेमाको निर्देशन वसन्त निरौलाले गरेका हुन्। ‘ज्वाइँ साब’ रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा फिल्म निर्माण भएको हो। प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।