विराटनगर : वर्ष दिनमा आउने चाड पर्वले परिवार, गाँउघरको सम्झनाको बादलहरू मडारिएर ल्याइदिन्छ।
चाडपर्वमा परिवारसँग बसेर रमाइलो गरेका क्षणहरू मोबाइलको ग्यालरीमा सुरक्षित गरेर राखे झैँ मनमा , मस्तिष्कमा राखिन्छ। र, बिदा नमिलेको समय त्यही सम्झनाको ग्यालरीमा खोतलिन्छ परिवार, साथीभाइहरूसँग बिताएका यादहरू। दशैँको रौनकले गाँउ, शहर, बजार छाएको छ। तर, कर्तव्यको शिलशिलामा एउटा फैजीले बिदा नपाउनुको पीडालाई गीत मार्फत प्रस्तुति यसै गरिएको होइन।
‘किन आउँछ दशैँँ तिहार किन बिदाबार
फौजीलाई कुन हो दशैँ कुन हो चाड तिहार’
वृद्ध भइसकेका बाआमा ,परिवारको साथमा आर्शिवाद र टिका ग्रहण गर्न नपाउँदा मन यसै भक्कानिँदो हो। तर, आफ्नो जिम्मेवारी र कर्तव्यका अगाडि फौजीहरूले ती सम्झनाका भेलहरूमा बाँध लगाइदिन्छन्।
यसैमा एकअर्काबीच खुशी साट्छन्। रात र दिनलाई एक बनाएर डयुटीमा खटिएका जवानदेखि अधिकृतसम्मका लागि हाकिम नै अभिभावक बन्छन्। त्यही कार्यस्थलमा नै टिका , आर्शीवाद थापेर रमाइरहेका हुन्छन्।
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी चन्द्रकुबेर खापुङ फौजीका लागि चाडपर्वमा झन चुनौती थपिने बताउँछन्।
त्यसमा पनि आफू प्रदेश प्रमुख भएकाले प्रदेश छोड्न हेटक्वाटरले अनुमति नदिने उनको भनाइ छ।
‘ मैले प्रदेश छोड्न मिल्दैन, त्यसैले घुम्ने रमाउने भन्ने हुँदैन,’ उनी भन्छन्,‘प्रदेशभर के भइरहेको छ ? भन्ने कुरामा सजक हुनुपर्छ।’
चाडपर्वमा मादकपदार्थ सेवन गरेर झैझगडा, सवारी दुर्घटना जस्ता घटना बढ्ने भएकाले यस्ता विषयमा विशेष योजना बनाएर प्रहरी कर्मचारी समेत खटाइएको उनको भनाइ छ।
तेह्रथुम घर भएका डीआईजी खापुङ ड्युटी र दशैँँलाई सँगै लिएर जाने बताउँछन्। उनी भन्छन्,‘हामी सुरक्षाकर्मीहरूले काम र दशैँँको रमाइलो दुईवटै सँगसँगै लग्ने हो नि ।’
श्रीमती बच्चा दशैँँ मनाउन विराटनगर नै आउने भएकाले समय मिलाएर परिवार भेटघाट गर्ने बताउँदै उनले यो पटक दशैँँमा परिवार भित्रको सदस्यको मृत्यु भएकाले टिका लगाउने योजना नभएको बताउँछन्।
यता, राष्ट्रिय अनुसन्धान विभागका कोशी प्रदेश प्रमुख अनुसन्धान निर्देशक इन्द्रसिंह लामा दशैँँ कार्यस्थलमा नै मनाउने बताउँछन्। चाडपर्वमा सुरक्षाको चुनौती बढ्ने बताउँदै उनी भन्छन्,‘सुरक्षाकर्मीलाई के दशैँँ के तिहार र ? ’
अरुको छुट्टी हुने समयमा आफूहरूको ड्यिुटी सुरु हुने बताउँदै उनले चाडपर्वमा सुरक्षाकर्मीको थप जिम्मेवारी बढ्ने बताउँछन्।
काभ्रे थातथलो भए पनि उनको परिवार काठमाडौं बस्छन्। बाढीपहिरोको कारण परिवार पनि आउने सम्भावना कम भएकाले परिवार बिनाको दशैँँ हुने सम्भावना रहको उनी बताउँछन्।
त्यसो त परिवारको मिलन, खुशी साट्ने पर्वको रुपमा मानिने दशैँँले सामाजिक सद्भाव, एकता साथै भाइचारा कायम राख्दछ। त्यसैले पनि समाजमा शान्ति, सुरक्षा र चाडपर्वमा भाइचारा कायम राख्न सुरक्षाकर्मीले भूमिका खेल्नु जरुरी रहेको ड्यिुटीमा खटिएका प्रहरी कर्मचारीहरूको पनि भनाइ छ।
आफ्नो परिवारसँग भेटघाट रमाइलो गर्न नपाए पनि कार्यालयको इन्चार्ज , संगठनका कर्मचारी साथीहरूसँग रमाइलो गर्नु पाइने र संगठन नै परिवार जस्तो महसुस हुने उनीहरू बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।