|

काठमाडौं :  नेपालमा सबैभन्दा धेरै मानिसहरूले मनाउने चाड हो दशैँ। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्दै छँदै छ। दशैँ नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दशैँसँग जोडिएका हुन्छन्।

खेतमा लहलह धानका बाला, बारीमा फूलेकाे कोदोसँगै रेडियो टेलिभिजनमा बज्ने मालश्री धुन र दशैँ गीतले दशैँ आएको संकेत गर्छ। हरेक वर्ष दशैँ तिहारलाई लक्षित गरेर दर्जनौँ गीत सार्वजनिक हुने गर्छन्। तर केही यस्ता गीत छन्, जो हरेक वर्ष उत्तिकै बज्छन्। जसले दशैँ आएको संकेत गर्छन्।

नमुछे आमा दहीमा टीका’

लक्ष्मण रायमाझीको शब्द र नारायण रायमाझीको संगीतमा रहेको उक्त गीतमा स्वर कृष्णभक्त राईको रहेको छ। वि.सं. २०५७ मा आएको उक्त गीतले आमनेपाली जनताको मन मस्तिष्कमा बस्न सफल भयो।

दशैँमा घर आउन नपाएको भारतीय सिपाहीको वेदनामा बनेको यो गीतले विशेष गरेर परदेशमा रहेकाहरुलाई छुन्छ ।

सुगम पोखरेलको दशैँ तिहार’

रवि श्रेष्ठको शब्द तथा सुगम पोखरेलको स्वर तथा संगीत रहेको गीत दशैँ तिहार हरेक वर्ष उत्तिकै सुनिन्छ। दशैँ तिहार जस्ता चाडले लिएर आउने उत्साह तथा उमंग यो गीतमा सुन्न सकिन्छ। गीतमा दशैँ आयो भनेर रमाउनेहरूको मात्र कथा छैन। रोजगारको शिलशिलामा विदेशिएका र चाडवाडमा घर आउने नपाउनेहरूको व्यथा पनि छ।

मात्र ४ मिनेटको यो गीत दशैँ र तिहारको पर्यायवाची जस्तै बनेको छ। हरेक वर्ष दशैँ नजिकिने बित्तिकै युट्युबमा रहेको यो गीतमा कमेन्ट बढ्न थाल्छ। यो युट्युबमा सबैभन्दा धेरै पटक हेरिएकाे दशैँ गीत पनि हाे।

फौजीलाई कुन हो दशैँ, कुन हो चाड तिहार’

झण्डै दश वर्ष पुरानो यो गीत रेडियो तथा टेलिभिजनमा आज पनि उत्तिकै बज्छ। सशस्त्र प्रहरी बलले निर्माण गरेको यो गीतमा दशैँ तिहारमा घर जान नपाउने प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको कथा देखाइएको छ।

जगदिश समालको स्वर तथा गैरे सुरेशको संगीत रहेको गीतलाई दीपक कोइरालाले लेखेका हुन्। गीतमा फौजीको लागि कर्तव्य नै दशैँ तिहार हो भनिएको छ। गीतको भिडियोमा पनि दशैँमा घर जान नपाएका फौजीहरू आफूआफूमा रमाइलो गरेर दशैँ मनाएको देखाइएको छ।

बाटो हेरे हुन्छ है घरमा’

लामो समय विदेशमा बसेर दशैँ तिहार मान्ने गरी घर आउन लागेको परदेशी र उसलाई पर्खेर बसेको परिवारको खुशी यो गीतमा दर्साइएको छ। रेशम सापकोटाको शब्द तथा संगीत रहेको गीतमा रेशमसँगै प्रकाश क्षेत्री र विष्णु माझीको स्वर रहेको छ। ११ वर्षअघि सार्वजनिक भएकाे गीत सबैभन्दा बढी बज्ने गीत मध्येमा पर्छ।

दशैँ आयो’

मुग्लान फिल्ममा रहेको दशैँ आयो गीतमा दशैँको बेलामा बनाइने पिङ, लगाइने टिका जमरा देखि यो समयमा फल्ने बालीको प्रसंग पनि जोडिएको छ। परदेशमा भएर दशैँ मनाउन आउन नपाउनेहरूलाई पनि गीतमा सम्बोधन गरिएको छ।

यसको भिडियो पनि गीतसँग सुहाउँदो गरी बनाइएको छ। शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको फिल्म मुग्लानमा यसको विशेष स्थान छ। लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको संगीत रहेकाे गीतमा उदित नारायण झा, दिपा नारायण, नारायण लामा र जुना प्रसाइँको स्वर रहेको छ।

यी बाहेक योगेश्वर अमात्यको दशैँ नै हो  कि यो मेरो दशा, कुल पोखरेलको यसपाली दशैँमा ठूलो दाइ आउने रे, नारायण रायमाझीको नमुछे आमा दहीमा टिका लगायतका गीत पनि दशैँमा धेरै बज्ने गीत मध्येमा पर्छन्।

दशैँ नै हो कि यो मेरो दशा’

२०६१/६२ सालतिर रेकर्ड गरिएको यो लोक रक गीतको गायक योगेश्वर अमात्य हुन्। संगीत न्ह्यु बज्राचार्यको रहेको छ भने शब्द प्रेम बस्नेतको हो।  मध्यम वर्गीय परिवारमा दशैँ जस्तो ठूलो पर्वले ल्याउने आर्थिक बोझको पीडामाथि यो गीत तयार पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.