|

जनकपुरधाम : शारदीय नवरात्रिअन्तर्गत मिथिलानी महिलाहरु जनकपुरधामको प्रशिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन्।

जनकपुरधामलगायत वरपरको गाउँ गाउँबाट आएका विवाहित महिलाहरु बुधवार खोइछ भरिरहेको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए।

राजदेवी मन्दिरमा खोइछ भराइ चलिरहेको छ, बाँकी रहेका श्रद्धालुहरु बिहीवारसम्म खोइछ भर्न पाउनेछन्। नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइछ भर्ने विधि गर्ने गर्छन्।

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, ९ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने गर्छिन् भन्ने मान्यताका साथ खोइछ भर्ने परम्परा मिथिलाञ्चलमा रहेको छ।

खोइछ दिनुलाई समृद्धि, परिपूर्णता र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ। यसको सम्बन्ध आँचरसँग हुन्छ। आँचर महिलाका लागि सबैभन्दा ठूलो निधि हो। आँचर यस्तो अमूल्य मानिन्छ, जसलाई बाँधिएमा खोइछ र खोलेमा आँचर हुन्छ। 

खोइछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान् शिवको प्रतीक मानिन्छ। जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बेसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ। 

मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जाने बेलामा पनि खोइछ भर्ने परम्परा रहेको छ। यो विधि कुलदेवता र देवीको मन्दिरमा गरिन्छ। 

कुलदेवता र देवीको मन्दिरमा खोइछ भर्नुको अर्थ कुलदेवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र संकल्प गर्नु रहेको जानकारहरु बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.