काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल विदेश भ्रमणमा व्यस्त देखिएका छन्। विश्व स्वास्थ्य संगठनको भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एशिया क्षेत्रको बैठकमा भाग लिएर बुधबार मात्रै काठमाडौं आइपुगेका मन्त्री पौडेल दशैँको टीकाकै दिन पुन: विदेश भ्रमणमा जाने भएका हुन्।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्यमन्त्री पौडेल आगामी शनिबार (दशैँको टीकाको दिन) जर्मनीको बर्लिनमा हुने कम्युनिटी हेल्थ डेलिभरी पार्टनरसिप इभेन्ट डिउरिङ द वर्लड हेल्थ समिट – २०२४ मा सहभागी हुन त्यसतर्फ जाने भएका हुन्।
मन्त्री पौडेलसँगै उनको सचिवालयका विश्वबन्धु शर्मा पनि बर्लिन जान लागेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको ११ वटा निर्णयमा मन्त्री पौडेलको भ्रमण स्वीकृत गर्ने निर्णयसमेत भइसकेको छ।
तीन महिनाअघि स्वास्थ्य मन्त्रीमा नियुक्त पौडेलको यो तेस्रो विदेश भ्रमण हो। यसअघि उनी इण्डोनेशिया र भारत भ्रमण गरिसकेका छन्। विश्व स्वास्थ्य संगठनको क्षेत्रीय बैठकमा मन्त्रीस्तरीय भ्रमण अनिवार्य भए पनि बर्लिनमा हुने कम्युनिटी हेल्थ डेलिभरी पार्टनरसिप इभेन्ट डिउरिङ द वर्लड हेल्थ समिटमा भने मन्त्रीस्तरीय भ्रमण अनिवार्य नमानिए पनि दशैँको छेकोमा मन्त्रालयमा खासै कामको चाप नहुने भएकाले मन्त्री आफैँ बर्लिन जाने इच्छा देखाएर सचिवालयका सदस्य लिएर त्यसतर्फ जान लागेका मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।