|

काठमडौं : ‘स्थायी सरकार’ भनिने कर्मचारीतन्त्रमाथि लामो समयदेखि अस्थिर सरकारबाट प्रहार हुँदै आएको छ। गणतन्त्र स्थापनायता पटक–पटक कर्मचारीतन्त्रलाई कमजोर बनाउने कदम सरकारले चालेको देखिन्छ।   

केही लोभी र स्वार्थी कर्मचारीका कारण पनि स्थायी सरकारमाथि चरम राजनीतिक हस्तक्षेपमा मलजल पुग्दै आएको देखिन्छ। गणतन्त्रपछिको पहिलो मुख्यसचिव भोजराज घिमिरेदेखि एकनारायण अर्यालसम्म हेर्दा राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रमाथि स्वार्थ लादेको देखिन्छ। 

१२ भदौ केपी ओली सरकारले वरियता मिचेर चौथो नम्बरमा रहेका आफ्नो प्रिय पात्र एकनारायण अर्याललाई मुख्यसचिवमा बनाएपछि दुई सचिवले राजीनामा दिए। वरीयतामा पहिलो नम्बरमा रहेका तोयनारायण ज्ञवालीले राजीनामा दिइसकेका छन्।

दोस्रो वरीयताका रामकृष्ण सुवेदी र तेस्रो नम्बरका दिनेश भट्टराईले भने असन्तुष्ट भए पनि राजीनामा दिएका छैनन्। 

बहालवाला मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार भ्रष्टाचार मुद्दा दायर भएपछि कार्यबाहक रहेकी ९ नम्बरकी लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाइयो। महिलालाई मुख्यसचिव बनाएको जस लिन ओलीले उनलाई उमेरहदका कारण अवकाशमा जान लागेकी गडतौलालाई मुख्यसचिव बनाए। 

कर्मचारीतन्त्रमाथि सत्ताले नाङ्गो हस्तक्षेप गरको घटना यी मात्र होइन, गणतान्त्रिक सरकारले तात्कालीन मुख्यसचिव भोजराज घिमिरेको अवधि बाँकी छँदै वरीयता मिचेर माधवप्रसाद घिमिरेलाई मुख्यसचिव बनाएको थियो। त्यो बेला वरिष्ठ सचिव उमेशप्रसाद मैनाली लगायतले राजीनामा दिएका थिए। 

घिमिरेपछि लीलामणि पौडेललाई पनि वरीयता मिचेरै तत्कालीन सरकारले मुख्यसचिव बनाएको थियो। सिनियर सचिवलाई पाखा लगाएर पौडेललाई मुख्यसचिव बनाएपछि शंकरप्रसाद कोइरालासहितका वरिष्ठ सचिवहरू उसैगरी राजीनामा दिन बाध्य भएका थिए।

लीलामणिपछि मुख्यसचिव बनेका सोमलाल सुवेदी लोभी बनेर बीचैमा एसियाली विकास बैंकमा जागिर खान गए।

सुवेदीपछि वरिष्ठ सचिव शान्तराज सुवेदी मुख्यसचिव बन्ने थिए। तर, लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने गरी रचिएको चक्रव्यूहमा उनी परे। 

रेग्मीलाई मुख्यसचिव बनाउन सहज हुनेगरी कम अवधि भएका राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाइयो।  क्षेत्रीपछि मुख्यसचिव बनेका लोकदर्शन रेग्मीले पनि बेलायतको राजदूत बन्ने लोभमा शंकरदास बैरागीलाई मुख्यसचिवका लागि मार्गप्रशस्त गरिदिएका थिए। रेग्मीले पूरा अवधि मुख्यसचिव चलाएको भए चन्द्र घिमिरे मुख्यसचिव बन्ने थिए। 

बैरागीले पनि पूरा अवधि मुख्यसचिव नखाई राजीनामा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति लिए। जस्केलाबाट छिरेर बैकुण्ठ अर्याल मुख्यसचिव बन्दा ‘क्यू’मा बसेका सूर्यप्रसाद गौतम मुख्यसचिव नभइ बिदा भए।  

अहिले फेरि वरिष्ठता मिचेर अर्याललाई मुख्यसचिव बनाएर कर्मचारीतन्त्रमा खेल्ने काम भएको छ। जेलमा रहेका टेकनारायण पाण्डेको पनि हिसाब गर्ने हो भने वर्तमान मुख्यउसचिव आर्याल पाँचौँ नम्बरमा पर्छन्। 

कनिष्ठलाई मुख्यसचिव बनाउँदा वरिष्ठ सचिवहरू त पदमा रहिरहन उपयुक्त ठान्दैनन् नै, तर यसको असर समग्र कर्मचारीतन्त्रमै पर्ने विज्ञहरू बताउँछन्। यस्ता चरम राजनीति हस्तक्षेपले स्थायी भनिने कर्मचारीतन्त्र र समग्र कर्मचारीको मनोबल कमजोर हुने पूर्वमुख्यसचिव विमल कोइराला बताउँछन्। 

‘मुख्यसचिव भनेको प्रधानमन्त्री वा मन्त्रिपरिषद्को मात्र विषय हुनुहुँदैन। यो एउटा वस्तुगत क्राइटेरिया बनाएर नियुक्त गर्दा राम्रो हुने हो। फेरि के छ भने आफूलाई मन परेको मुख्यसचिव ल्याउनलाई बहाललावा मुख्यसचिवलाई विभिन्न लोभलाचल देखाएर राजीनामा गराउने जुन प्रवृत्ति छ, त्यो दुःखद कुरा हो’, उनी भन्छन्, ‘यसो हुँदा प्रशासनिक मर्यादा भत्कियो, कर्मचारीको मनोबल खस्कियो र मुख्यसचिव प्रतिको कर्मचारीको आस्था पनि कम हुँदै गएको देखिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.