|

सुर्खेत : कर्णाली सरकारमा रहेका कांग्रेसनिकट ४ जना मन्त्रीहरुको सम्पत्ति सार्वजनिक भएको छ। विवरणअनुसार कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै मन्त्री धनी देखिएका छन्।

सम्पत्ति विवरण हेर्दा पिछडिएको तथा दुर्गम जिल्ला जाजरकोटबाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहको सम्पत्ति सबैभन्दा धेरै रहेको पाइएको छ। 

करिब अर्ब बराबरको सम्पत्ति रहेको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना मन्त्रीको सार्वजनिक भएको सम्पत्ति विवरणामा सबैभन्दा धनी मन्त्रीका रुपमा शाह देखिएका छन्। 

पुर्ख्यौली थलो जाजरकोट रहेका शाह हाल काठमाडौँको थापाथलीमा बस्दै आएका छन्। राजा खानदानका शाहको अध्ययन‚ व्यापार गर्दाको अधिकांश समय विदेशमा बितेको थियो। 

राम्रोसँग नेपाली बोल्न नजान्ने शाह भर्खरैमात्र नेपाली भाषामा फरर बोल्न सक्ने भएका हुन्। प्रदेशसभामा समेत अंग्रेजीमा आफ्ना कुरा राख्ने शाह हाल कर्णाली सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतवार सम्पत्ति विवरण सार्वजनिक गरेको हो। हालसम्म सम्पत्ति विवरण सार्वजनिक भएका मन्त्रीहरुमध्ये मन्त्री शाह सबैभन्दा धनी देखिएका छन्। 

शाहले पेश गरेको विवरणअनुसार काठमाडौँमा ४ ठाउँमा उनको घर रहेका छन् भने ११ ठाउँमा जग्गा रहेको छ। उनीसँग ९४५ तोला सुन, १० हजार १६१ तोला चाँदी, ८ करोड रुपैयाँ बराबरको हिरा जवाहरात, १ करोड ५० लाख रुपैयाँ बराबरका ५ वटा घडी, ३ करोड २३ लाख रुपैयाँ नगद मौज्दात, २६ कम्पनीमा सेयर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ। 

उनले ५ वटा बैंकबाट झण्डै २१ करोड रुपैयाँभन्दा बढी ऋण लिएकोमा ७ करोडभन्दा बढी ऋण तिरिसकेको पनि सम्पत्ति विवरणमा उल्लेख छ। 

उनीसँग १ करोड ५० लाख रुपैयाँ पर्ने टोयोटा टी-एक्स गाडी, ६१ लाख ७५ हजार रुपैयाँ पर्ने महेन्द्रा एसयूभी जिप, ५ लाख रुपैयाँ पर्ने मोटरसाइकल, ३७ लाख रुपैयाँ पर्ने महेन्द्रा थार, २ करोड ६३ लाख रुपैयाँ पर्ने जिप रुविकनलगायत सवारीसाधन रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।

जाजरकोटमा फैलिएको झाडापखालाको महामारीपछि मन्त्री शाह राजनीतिमा उदाएका हुन्। उनले व्यक्तिगत रुपमा धेरैलाई सहयोग गर्दै आएका पनि छन्। संघीय संसददेखि प्रदेशमा समेत सांसद भइसकेका शाह नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। 

जलस्रोतमन्त्री बुढा पनि धनी

कर्णालीकी जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा साविकको कर्णाली हुम्लाकी भए पनि उनले पेश गरेको सम्पत्ति विवरणले उनी पनि धनी रहेको देखाएको छ।

उनले ठेक्काबाट सम्पत्ति आर्जन गरेको उल्लेख गरेकी छन्। हुम्लाको खार्पुनाथ–१ गोप्काकी मन्त्री बुढासँग हुम्लाको सिमिकोट र बाँकेको नेपालगञ्जमा २ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। दुवै घर छोरा मिजास बुढाका नाममा  रहेको उल्लेख छ। 

मन्त्री बुढाको ५ ठाउँमा गरी ६९ लाख रुपैयाँ पर्ने जग्गा रहेको विवरणमा उल्लेख छ। ती जग्गा हुम्ला, बाँके र सुर्खेतमा रहेका छन्। 

उनीसँग २५ तोला सुन, १५० तोला चाँदी र १५ तोला मुगासमेत रहेको विवरणमा उल्लेख छ। ७ वटा बैंकमा गरी २३ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। 

सहकारी, बैंक तथा हाइड्रोपावर गरी ९ कम्पनीमा उनको शेयर लगानी रहेको छ। पैतृक सम्पत्तिका रुपमा ५० वटा घोडा, चौँरी, भेडा, गाई र बाख्रा रहेको विवरणमा उल्लेख छ। 

वातावरणमन्त्री अधिकारीको सम्पत्ति

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सल्यानको शारदा नगरपालिका–२ डाँडागाउँमा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उक्त घरको मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ। 

दाङको तुल्सीपुर उपमहानगरपालिका–५, ६ र ३ नम्बर वडाका पाँच ठाउँमा उनको जग्गा रहेको छ। सल्यान र दाङमा उनकी पत्नी कल्पना आचार्यको नाममा २ ठाउँमा जमिन रहेको छ।

मन्त्री अधिकारीसँग २५ तोला सुन र २० तोला चाँदी रहेको विवरणमा उल्लेख छ। ७ वटा बैंकमा ११ लाख रुपैयाँभन्दा बढी रकम मौज्दात छ। अपर तामाकोशीमा शेयर लगानी गरेको उनले उल्लेख गरेका छन्। 

११ लाख रुपैयाँ अरुलाई ऋण दिएको र बैंक तथा सहकारीबाट ६० लाख रुपैयाँ ऋण लिएको पनि विवरणमा उल्लेख छ। त्यसमध्ये १० लाख रुपैयाँ ऋण तिरेको विवरणमा जनाइएको छ। उनले आफूसँग रहेको एउटा स्कार्पियो गाडी बिक्री गरिसकेको विवरणमा उल्लेख छ।

सामाजिक विकासमन्त्री भण्डारीको सम्पत्ति

दैलेखको दुल्लु नगरपालिका-८ घर भएका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको घर आमाको नाममा रहेको उनले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख छ। २२ कित्ता जमिन साविकको दुल्लु गाविसमा आमाकै नाममा रहेको छ।

उनकी पत्नी पवित्राकुमारी खड्काका नाममा दुल्लु, कालभैरव, बडलम्जी गरी ३ ठाउँमा जमिन छ। उक्त जमिन पारिश्रमिकबाट खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ। 

मन्त्री भण्डारीको नाममा साविक पादुका गाविस–५ मा अर्को जग्गा छ। उक्त जमिन पारिश्रमिकबाट खरिद गरेको विवरणमा उनले उल्लेख गरेका छन्। 

विवरणअनुसार भण्डारीसँग ८ तोला सुन र ५ तोला चाँदी छ। हाल उनीसँग बैँकमा १ लाख २९ हजार ७ सय रुपैयाँ मौज्दात छ भने २१ लाख रुपैयाँ ऋण छ। 

पत्नीको नाममा ४ लाख र शुभलक्ष्मी इटरलग इँटा उद्योगको नाममा १८ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख छ। उनीसँग १४ हजार मूल्य पर्ने दुईवटा गोरु, ४ वटा बाख्रा र एउटा कुखुरा छ। 

सामाजिक विकासमन्त्री भण्डारी पूर्वपत्रकार तथा पूर्वमेयर हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.