|
फाइल तस्वीर ।

काठमाडौँ : कर्णाली प्रदेशमा स्वास्थ्य संस्थामा सुत्केरी हुने घटेका छन्। मापदण्डअनुसारका स्वास्थ्य संस्था नभएकाले घरमै सुत्केरी हुनेको संख्या बढेको हो। विगतका तुलनामा कर्णालीमा आठ प्रतिशतले घरमा सुत्केरी हुने दर बढेको हो ।

गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना गरिए पनि मापदण्डअनुसारका नभएकाले घरमै सुत्केरी हुने दर केही बढेको कर्णाली प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए।

डा. खड्काले बर्थिङ सेन्टरलाई मापदण्डअनुसार बनाउने र दक्षजनशक्ति पूर्ति गर्ने योजना रहेको पनि बताए। 

कर्णाली प्रदेशमा २० वर्ष नपुग्दै आमा हुने प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बनेको छ। कर्णाली सरकारले नसर्ने रोग, कलिलै उमेरमा आमा हुने समस्या र घरमा सुत्केरी हुने दर घटाउने योजना अगाडि सारेका वेला यसरी घरमा सुत्केरी हुनेको संख्या वृद्धि भएको हो।

भौगोलिक विकटताका कारण कर्णालीमा अझै सबै पालिकामा आधारभूत तह अस्पताल नहुँदा सर्वसाधारणले सहज उपचार पाउन सकेका छैनन्।

एकातिर कर्णालीमा आधारभूत अस्पताल समेत छैनन् भने अर्कोतिर भएका स्वास्थ्यसंस्थालाई समेत सेवाग्राहीले विश्वस गर्न छोडेका छन्। यसैगरी पछिल्लो समय रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगका साथै मानसिक रोगको समस्या बढ्दो छ।

कर्णाली प्रदेशका १० वटा जिल्लाका ७९ स्थानीय तहमध्ये ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्। ३१ स्थानीय तहमा मात्रै आधारभूत अस्पताल रहेका छन्।

कर्णालीमा सल्यान‚ डोल्पा‚ जुम्ला‚ मुगु‚ हुम्ला‚ कालिकोट‚ जाजरकोट‚ दैलेख‚ सुर्खेत र रुकुम (पश्चिम) लगायत १० जिल्ला पर्छन्। तीमध्ये ६ जिल्ला डोल्पा‚ मुगु‚ हुम्ला‚ कालिकोट‚ जाजरकोट र रुकुम (पश्चिम) मा पूर्ण राष्ट्रपति महिला उत्थान कार्यक्रम पूर्ण रूपमा लागू भएका छन्।

त्यसैगरी जुम्ला (चन्दननाथ बाहेक)‚ सल्यान (कपुरकोट बाहेक) र दैलेख (गुराँस गाउँपालिका बाहेक) सबै ठाउँमा लागू भएको छ। यो प्रदेशको सुर्खेत जिल्लामा मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको छैन।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.