|

काठमाडौँ : उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन्।

मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा.पोषराज पाण्डेको संयोजकत्वमा सातसदस्यीय सुझाव समिति गठन गरेका हुन्।

गठित समितिको सदस्यमा स्वास्थ्यविद् डाक्टर अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा. देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन्।

यसैगरी औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिका सदस्यसचिव छन्।

समितिलाई उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ।

समितिलाई छिमेकी देशहरूले अपनाएका औषधि मूल्य सम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी उपयुक्त हुने स्वच्छ मूल्य निर्धारण सम्बन्धी आधार पहिचान गरी गर्नुपर्ने नीतिगत सुधार सम्बन्धी सुझाव दिन भनिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिले औषधि मूल्य सम्बन्धित विषय वस्तुबारे अभ्यास पुनरावलोकन गरी सुझाव सिफारिस गर्नेछ।
औषधिको मूल्यसँग सम्बन्धित नीति प्रणाली, बजार मूल्य, आयात–निर्यात अवस्था तथा सरकारी नीतिबारे समेत समितिले सुझाव दिनेछ।

समितिको सुझावका आधारमा उपभोक्तालाई औषधिको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णय लिने प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.