|

सुर्खेत : दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि कर्णालीका गर्भवती तथा सुत्केरीको ज्यान बचेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरर्गत राष्ट्रपति महिला सशक्तीकरण परियोजना राष्ट्रपति महिला उत्थान समन्वय एकाइमार्फत कर्णालीका गर्भवती तथा सुत्केरीको ज्यान बच्दै आएको छ। कर्णाली सबै ठाउँमा सुविधा सम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रम मार्फत  हेलिकोप्टरबाट निशुल्क उद्धार गरेर सुविधा सम्पन्न ठाउँमा लिएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउदा यहाँका धेरै महिलाहरुको अकालमा ज्यान बचेको छ।

 यो कार्यक्रममार्फत १८ जिल्लाबाट पूर्ण र २९ जिल्लामा आंशिक रूपमा सेवा प्रवाह हुँदै आएको छ। आर्थिक वर्ष २०७५/०७६ बाट सुरु भएको उक्त कार्यक्रम प्रसव समस्या न्यूनीकरण गरी मातृ शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको थियो। उक्त आर्थिक वर्षमा २६ जना महिलाको उद्धार गरिएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा ८७, २०७७/०७८ मा एक सय तीन, २०७८/०७९ मा एक सय ६९ र २०७९/०८० मा १६७ रहेको छ। त्यस्तै २०८०/०८१ मा १६१ जना गरि हाल सम्मा ७१३ जनाको  राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निःशुल्क हवाई उद्धार सेवा प्रदान गरिएको एकाइले जानकारी दिएको छ।

कार्यविधिबमोजिम तोकिएका क्षेत्रमा गरिएको पूर्णरूपमा १८ वटा जिल्ला ताप्लेजुङ, संङखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दाचुर्लामा तथा आशिंक २९ जिल्लामा सञ्चालित छन्।

कर्णाली प्रदेशमा आब ०८०/०८१ मा कर्णालीबाट मात्र ३९ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको तथ्यांकमा उल्लेख छ।  जाजरकोटबाट ७ जनाको अघिल्लो आबमा हवाई उद्धार गरिएको छ।

त्यस्तै डोल्पाबाट १२ जना, हुम्लाबाट ६ जना, रुकुम पश्चिमा ३ जना, दैलेखबाट ३, कालिकोटबाट ५ जनाको  हवाई उद्धार गरिएको मन्त्रालयको हवाई उद्दार सम्पर्क व्यक्ति इन्दिरा आचार्यले जानकारी दिइन्।

मन्त्रालयको हवाई उद्दार सम्पर्क व्यक्ति इन्दिरा आचार्यले आव २०८१/८२ मा को पहिलो तीन महिनामा ४८ जना सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको जानकारी दिइन्। हालसम्म ७६१ जनाको हवाई मार्गबाट उद्धार गरिएको उनले जानकारी दिइन्।

कर्णालीका रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्लाबाट उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवतीको प्रदेश अस्पताल र नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भएको उल्लेख गरिएको छ। नेपाली सेवाको पश्चिम वेश सुर्खेतबाट जाने हेलिकोप्टरले उद्धार गरिरहेको उनको भनाइ छ।

कर्णालीका ३१ पालिकामा मात्र आधारभूत अस्पताल रहेका छन्। स्वास्थ्य सेवा निर्देशनालयले दिएको जानकारीअनुसार १० जिल्लाका ३१ पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्।  प्रदेशमा २५ वटा नगरपालिका, ५४ वटा गाउँपालिका रहेका छन्। 

कुल ७९  स्थानीय तहका जम्मा ७१८ वडाहरु रहेका छन्। ४८ पालिकामा अझै आधारभूत अस्पताल निर्माण हुन सकेको छैन। जटिल भूगोल रहेको कर्णालीमा अझैँ सबै पालिकामा आधारभूत तह अस्पताल नहुँदा यहाँका स्थानीयबासीहरु समस्या भोग्दै आएका छन्।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार २० वर्ष नपुग्दै आमा हुने प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बन्दै जाँदा बालविवाह न्यूनीकरण लगायतका कार्यक्रमलाई पनि समन्वयका साथ प्रदेशभरका सबै स्थानीय तहसँग काम गर्ने योजना रहेको छ। कर्णालीमा संस्थामा सुत्केरी हुने दर पनि घटेको छ।

गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना गरिए पनि मापदण्ड अनुसारका नभएकाले घरमै सुत्केरी हुने दर केही बढेकाले अब बर्थिङ सेन्टरलाई मापदण्डअनुसार बनाउने र दक्ष जनशक्ति पूर्ति गर्ने योजना पनि समीक्षा कार्यक्रममा गरिएको निर्देशनालयका निर्देशक डा रविन खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.