काठमाडौँ : डेंगु संक्रमणको प्रकोप झन् बढ्दै गएको भन्दै सरकारले आज १० बजेदेखि देशव्यापी रूपमा लामखुट्टे खोजी र नष्ट अभियान थालेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्न सबै मन्त्रालयसहित सरकारी कार्यालय, सार्वजनिक स्थल तथा आफ्नो घर वरपर बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले छुट्टाछुट्टै भिडियो सन्देश जारी गर्दै सरसफाइमा सहभागी बन्न सबैमा आग्रह गरेका थिए।
‘डेंगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लामखुट्टेका लार्भा, प्यूपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रुपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियन्ताहरूका साथै सम्पूर्ण आमनागरिकसमेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।
यति मात्रै होइन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि अझै केही जिल्लामा डेंगु संक्रमणको जोखिम कायमै रहेकाले लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरिएको बताएका छन्। उनले भने‚ ‘अझै पनि केही जिल्लामा डेंगु संक्रमणको जोखिम कायमै छ। त्यसैले हामीले डेंगु संक्रमण गराउने लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरेका हौँ। त्यसैले आफ्नो घर वरपर,कार्यालयमा सरसफाइमा विशेष ध्यान दिऊँ’‚ स्वास्थ्यमन्त्री पौडेलले भनेका छन्।
२२ हजार संक्रमित ११ जनाको ज्यान गएर संक्रमण ओरालो लाग्ने वेला बल्ल सरकारको ध्यानाकर्षण
हालसम्म नेपालमा मनसुन सुरु हुने समय जुन/ जुलाईदेखि डेंगु संक्रमण देखिने र सेप्टेम्बर र अक्टोबर महिनामा संक्रमण उच्चतहमा पुरेर मनसुन बाहिरिएर चिसो सुरु भएसँगै संक्रमण ओरालो लाग्दै आउने गरेको सरकारी तथ्यांकले देखाएको छ।
यसरी हेर्दा सरकारले आजबाट सुरु गरेको लामखुट्टेको लार्भा मार्ने विशेष कार्यक्रमको सुरुवात भने निकै ढिला भएको देखिन्छ। यतिखेर देशभर चिसो बढिसकेको छ। यसले गर्दा डेंगु संक्रमण अब आफै विस्तारै कम हुँदै जाने देखिन्छ।
सरकारले हाल सुरु गरेको लामखुट्टे खोजी र नष्ट विशेष अभियान भदौको दोस्रो हप्ताबाटै सुरु गर्नुपर्नेमा अहिले गरेर संक्रमण नियन्त्रणमा धेरै प्रभावकारी नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीको भनाइ छ। डा. मरासिनीले भने‚ ‘हाम्रोमा डेंगु संक्रमण तीव्ररूपमा फैलने भनेको भदौको दोस्रो हप्तादेखि कात्तिको पहिलो हप्तासम्म हो। यसले गर्दा अहिले मनसुन बाहिरिएर चिसो मौसम सुरु भइसकेको अवस्थामा डेंगु संक्रमण विस्तारै कम हुँदै जान्छ। त्यसैले यो समयमा सुरु भएको लामखुट्टे खोजी र नष्ट अभियान खासै प्रभावकारी हुँदैन। यो खालको अभियान त भदौको दोस्रो हप्तादेखि असोज महिनासम्म सुरु गरेको भए डेंगु संक्रमण नियन्त्रणमा धेरै प्रभावकारी हुने थियो।’
पछिल्लो एक/दुई बर्ष यता डेंगु संक्रमण १२ महिना देखिन थाले पनि सबैभन्दा धेरै संक्रमण देखिने भनेको भदौ १५ देखि कात्तिकको पहिलो हप्ता सम्म हो त्यसैले लामखुट्टे खोजी र नष्ट अभियान राष्ट्रिय सुरु हुन राम्रो भए पनि समय अनुकूल भने भएन डा मरासिनीको भनाइ छ।
इडिसिडीको विवरण हेर्ने हो भने पनि गत भदौ अन्तिम सातादेखि असोजको दोस्रो सातासम्म डेंगु संक्रमण बढेको देखिन्छ। असोज ७ देखि १४ को बीचमा एक सातामा २ हजार ३३१ जनामा डेंगु सङ्क्रमण देखिएको थियो। त्यो समयमा देशभर डेगु सङ्क्रमित संख्या १४ हजार ९७५ जना थिए भने ७ जनाको मृत्यु भएको थियो । तर त्यसपछि लगत्तै दशैँ परेको हुँदा डेंगु संक्रमणको विवरण सार्वजनिक भएको थिएन तर इडिसिडीको असोज २९ गते विवरण अनुसार दशैँको बीचको समयमा ४ हजार ६२४ जना डेंगु सङ्क्रमित थपिएर १९ हजार ५९९ जना पुगेको थियो र ९ जनाको मृत्यु भइसकेको थियो। र पछिल्लो समय हाल देशभर २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण देखिएको छ भने ११ जनाको मृत्यु भएको छ। अब विस्तारै चिसो मौसम सुरु भएको र मनसुन पनि बाहिरिएको हुँदा संक्रमण विस्तारै ओरालो लाग्दै जाने विज्ञहरूले बताएका छन्।
इडिसिडीका अनुसार नेपालमा यसपटक गत जनवरीदेखि हालसम्म २२ हजार ८२ जनामा डेंगु संक्रमण देखिएको छ। डेंगुकै कारण ११ जनाको मृत्यु भएको र ७६ जिल्लामा संक्रमण देखिएको उल्लेख गरेको छ।
अहिलेको मौसममा लामखुट्टे खोजी र नष्ट अभियान गर्नु नराम्रो नभए पनि प्रभावकारिता कम हुने बताउँछन् डेंगु नियन्त्रण नीति तथा योजना तयार पार्न स्वास्थ्य मन्त्रालयले गठन गरेको सुझाव कार्यदल गठन समितिका सदस्य तथा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन। उनका अनुसार यतिखेर डेंगु संक्रमणदर उच्चतहमा पुगेर धेरैमा संक्रमण भएको अवस्थामा यतिखेर लामखुट्टे खोजी र नष्ट अभियान भन्दा पनि संक्रमितहरूको उपचारमा ध्यान दिनु पर्ने समय हो।
अभियान चलाउनु नराम्रो होइन तर यतिखेर यो अभियानभन्दा पनि संक्रमितहरुको उपचारमा ध्यान दिनुपर्ने समय किन भने यतिखेर प्रायः घरमा डेंगु संक्रमितहरू हुनुहुन्छ उहाँहरुलाई स्वास्थ्य जटिलता हुन्छ त्यसैले डेंगु संक्रमण यसबाट हुने जटिलता सावधानी र उपचारको लागि फोकस हुने समय हो यो’ डा पुनले भने ‘ यति भन्दैमा लामखुट्टे खोजी र नष्ट एक दिनलाई गरेर हुँदैन प्रभावकारीताको लागि यसको निरन्तता पनि हुन पर्छ’।
तपाईंको ईमेल गोप्य राखिनेछ ।