काठमाडौँ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अब क्लिनिकल फेलोसिप कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ।
विशिष्टीकृत उपचार सेवाका लागि पछिल्लो समय विशेषज्ञ चिकित्सकहरूको कमी हुँदै गएको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाल मेडिकल काउन्सिलको स्वीकृतिपछि केन्द्रले यही शैक्षिक सत्रदेखि ‘किड्नी ट्रान्सप्लान्ट सर्जरी’ र ‘रिनल ट्रान्सप्लान्ट मेडिसिन’ विषयको फेलोसिप सञ्चालन गर्ने भएको हो।
मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवले केन्द्रबाट पेश भएका कागजात र काउन्सिलबाट भएको निरीक्षण प्रतिवेदनको आधारमा क्लिनिकल फेलोसिप कार्यक्रमका लागि स्वीकृति दिइएको बताए। 'हामीले केन्द्रबाट पेश भएका पत्रहरूमा अध्ययन गरेर क्लिनिकल फेलोसिपका लागि अनुमति दिएका हौँ'‚ काउन्सिलका रजिष्ट्रार डा. देवले भने।
सरकारी तहबाट अंग प्रत्यारोपण सेवाका लागि विशेष रूपमा सन्चालन गरिएको उक्त केन्द्रमा यसअघि नै प्रत्यारोपणसम्बन्धी विशेषज्ञ जनशक्ति उत्पादन गर्ने थलोको रूपमा विकास गर्न शैक्षिक प्रतिष्ठानको रूपमा अघि बढाउनुपर्ने र शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने समेत माग उठ्दै आए पनि हालसम्म यस्तो कार्यक्रम सञ्चालन भएको थिएन।
केन्द्रका अनुसार अब मिर्गौला प्रत्यारोपण शल्यक्रिया विषयमा एकजना र मिर्गौला प्रत्यारोपण चिकित्सा विषयमा एकजनालाई गरी कुल दुईजनाका लागि एकवर्षे फेलोसिप कार्यक्रम सञ्चालन हुने बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।