अध्यक्षमा दीपशिखा र शैलेन्द्रको दाबी

|

काठमाडौँ: नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले भदौ २ र ३ गते काठमाडौँमा हुने एकताको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी तीब्र पारेको छ।

३९९ जनाको केन्द्रीय आयोजक समिति रहेको वाईसीएलको सम्मेलनले १५१ जनाको केन्द्रीय समिति चयन गर्ने केन्द्रीय संयोजक नेपबहादुर कुँवर विवेकले जानकारी दिए। अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक/एक जना हुन्छन् भने उपाध्यक्ष र सचिव गरी १५ जना पदाधिकारी रहनेछन्। सम्मेलनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।

२०७३ जेठमा १० माओवादी घटकबीच एकता भएपछि वाईसीएलले गत वर्ष असोजमा एकता भेला गरेर नयाँ नेतृत्व चयन गरेको थियो। त्यसैले वाईसीएलले यस वर्षको सम्मेलनलाई एकताको दोस्रो सम्मेलन भनेको छ। वाईसीएलमा अहिले आयोजक समिति सदस्य रहेका ३९९ सदस्य नै आ-आफ्नो जिल्लाबाट प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने कार्यविधि बनाइएको छ। सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरी देशभरका ५४९ जना सहभागी हुनेछन्।

अध्यक्ष र महासचिवमा क-कसको दाबी?

वाईसीएलमा अहिले एकजना संयोजक, २५ जना केन्द्रीय कार्यालय सदस्य र ३७४ जना आयोजक समिति सदस्य छन्। नयाँ नेतृत्वका लागि अहिलेसम्म नेताहरूले सार्वजनिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्। तर भित्रभित्रै आफ्नो उम्मेदवारीको तयारी र छलफललाई तीब्रता दिएका छन्।

स्रोतका अनुसार पूर्व महासचिव रामप्रसाद सापकोटा ‘दीपशिखा’, पूर्व उपाध्यक्ष लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’, पूर्व उपाध्यक्ष युवराज दुलाल ‘शरद’ र दीपक देवकोटाले वाईसीएलको नेतृत्वका लागि दाबी गरेका छन्। यीमध्ये अध्यक्षमा अन्तिममा सापकोटा र चौलागाईंबीच प्रतिस्पर्धा हुने वाईसीएल स्रोतले बताएको छ।

वाईसीएलको महासचिवमा पूर्व कोषाध्यक्ष सुवोध शेर्पालीको दाबी रहेको स्रोतले बताएको छ। वाईसीएलले यस वर्षदेखि उमेर हद लागू गरी ४० वर्षभन्दा मुनिकाले मात्र केन्द्रीय समितिमा बस्न पाउने नियम बनाएको छ। आकांक्षीमध्ये धेरैलाई उमेर हदले प्रभाव पार्ने देखिएको शिव फुँयालले बताए। 

उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्म धेरैको दाबी रहेकाले नेतृत्व चयनका लागि निर्वाचन नै हुने संभावना पनि देखिएको छ। वाईसीएल निर्वाचनका लागि पूर्व अध्यक्ष तथा हाल संगठनका फ्र्याक्सन सहइन्चार्ज आरसी शर्माको संयोजक र गणतान्त्रिक कानुन व्यवसायी संघका चार जना सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ। 

को हुन् सापकोटा र चौलागाईं?

रामप्रसाद सापकोटा 'दीपशिखा' संगठनमा दक्ष र स्थापित नेता मानिन्छन्। जनमुक्ति सेनाको बटालियन कमाण्डर हुँदै जनयुद्धकालमा काठमाडौँको एसटीएफमा काम गरेका उनी भक्तपुर जिल्लाको अध्यक्ष, नेवा राज्य संयोजक, महासचिव भएर काम गरिसकेका छन् भने हाल वाईसीएलका संगठन विभागका प्रमुख छन्। 'रात फुलेको याम' उपन्यासका लेखकसमेत रहेका उनी पत्रपत्रिकामा समसामयिक विषयमा लेख रचना पनि लेख्छन्। उनी विगतमा 'लालरक्षक' पत्रिकाका सम्पादकसमेत रहेका थिए। जनयुद्धकालमा सिन्धुपाल्चोक जिल्ला पार्टी सचिवको भूमिकामा समेत काम गरेका थिए दीपशिखाले।

विगतको भन्दा राजनीतिक, अहिलेको भन्दा गतिशील र स्मार्ट वाईसीएल अहिलेको आवश्यकता भएको दीपशिखा बताउँछन्। ‘अबको वाईसीएलले भ्रष्टाचार, बेथिति र विकृतिका विरुद्ध कानुनी लडाइँ लड्दै कानुनी राज्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ', उनी भन्छन्, 'सबैभन्दा पहिला राज्यलाई उजुरी गर्ने, त्यो नभए मिडियामार्फत् विकृतिको भण्डाफोर गर्ने र त्यसबाट पनि नभए जनतालाई नै विकृतिका विरुद्ध लड्न प्रेरित गर्ने गरी काम गरिनेछ।’  

वाईसीएलका संस्थापक सदस्यसमेत रहेका अध्यक्षका अर्का दावेदार चौलागाईंले संगठनको वरिष्ठ उपाध्यक्ष, संगठन विभागको प्रमुखसमेत भएर काम गरिसकेका छन्। बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा कालीकोटको मान्म नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए। जनयुद्धकालमा उनी माओवादी सेनाका चार डिभिजनमध्ये चौथो डिभिजनको सचिव र ब्रिगेड कमिसार थिए।

पार्टी शान्ति प्रक्रियामा आएपछि वाईसीएलको लुम्बिनी, गण्डक, मधेसलगायतका व्यूरोको नेतृत्व सम्हालेको र सैन्य संरचना र सांगठनिक संरचना दुवैमा राम्रो अनुभव भएका कारण अहिले नेतृत्वमा दाबी गरेको चौलागाईंले बताए। उनले पार्टीमा देखिएको विचारधाराको समस्यालाई वैचारिक रूपमा स्पष्ट पार्ने वाईसीएल अहिलेको आवश्यकता भएको बताए।

६८ बढी जिल्लामा प्रतिनिधि चुनिए

नवलपरासी र रुकुमका दुई/दुईवटा जिल्ला समितिसहित ७७ वटा जिल्ला र एक केन्द्रीय कार्यालयअन्तर्गतको जिल्ला गरी ७८ जिल्ला शाखा रहेको वाईसीएलले ६८ बढी जिल्लामा प्रतिनिधि चुनिसकेको छ। बाँकी १० जिल्लामा पनि प्रतिनिधि चुन्ने काम चलिरहेको र केन्द्रमा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको वाईसीएलले बताएको छ। 

वाईसीएलले सम्मेलनको तयारीका लागि संयोजक कुँवरको नेतृत्वमा प्रतिवेदन समिति, दीपशिखाको नेतृत्वमा मूल व्यवस्थापन समिति, शिव फुँयालको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन समिति, लीला शर्माको नेतृत्वमा विधान लेखन समिति, सुदीप ढुंगानाको नेतृत्वमा स्वयंसेवक परिचालन समिति र सुवोध शेर्पालीको नेतृत्वमा आर्थिक समिति गठन गरेको छ।

सम्मेलन खर्च २५ लाख रुपैयाँ

सम्मेलन सम्पन्न गर्नका लागि वाईसीएलले २५ लाख रूपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ। त्यसका लागि प्रति प्रतिनिधि दुई हजार रूपैयाँ संकलन गरिने आर्थिक समितिले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.