काठमाडौँ : धेरैलाई सताउने स्वास्थ्य समस्यामध्ये एउटा हो- कब्जियत। विशेषगरी खानपान र जीवनशैलीले गर्दा अधिकांश व्यक्तिलाई कब्जियतको समस्या हुने गरेको छ।
पाचन प्रणालीसँग जोडिएको यो समस्याको प्रमुख कारण भनेको हामीले खाइने खानपान हो।
आन्द्राले खाना पचाउने रसायन उत्पादन गर्छ। सन्तुलित खाना नखाँदा आवश्यक पर्ने रसायनको उत्पादन कम हुन्छ यसले पाचन प्रणालीसम्बन्धी स्वास्थ्य समस्या निम्तिने गर्छ।
कसरी हुन्छ कब्जियत?
धेरै जंकफुड, फाइबरयुक्त खानेकुराको कमी, निष्कृय जीवनशैली र माछामासु‚ तारेभुटेको खानेकुरा अधिक सेवन गर्नुलाई कब्जियतको प्रमुख कारण मानिन्छ।
यसबाहेक पानी थोरै पिउने, धेरै कोल्ड ड्रिंक्स सेवन गर्दा तथा दिसा गर्ने समय अनियमित हुँदा र निद्राको कमीले पनि कब्जियतको समस्या झन् बढ्न सक्छ।
यसबाट बच्न के गर्ने?
सामान्य समस्या भए पनि लामो समय यो समस्या रह्यो भने कब्जियतले पाचन प्रणालीसँग सम्बन्धित जटिल स्वास्थ्य समस्याहरु पनि निम्त्याउन सक्ने हुँदा यसबाट जोगिनु नै उत्तम उपाय हो।
यसका लागि मुख्य गरी हाम्रो जीवनशैली र खानपानमा नै ध्यान दिन आवश्यक छ। खानालाई सन्तुलन मिलाएर खाना सकेमात्र कब्जियतको समस्या समाधान हुन्छ।
कब्जियत हुन नदिन विहान उठ्नासाथ खाली पेटमा २ गिलास मनतातो पानी पिउने र दैनिक २ लिटर पानी पिउन सुझाव दिन्छिन् होम्योप्याथी चिकित्सक डा. सरिना गुरागाई।
धेरै चिल्लो पदार्थ, कोकजस्ता सोडाजन्य पदार्थ नपिउने। माछामासु खाँदा सलाद, फलफूल‚ सागपात प्रशस्त मात्रामा खाने गर्नुपर्छ। त्यसका साथै सागपात खाने, फलफूल खाने, दाल खाने गर्नुपर्छ।
यसका साथै तनावबाट टाढा रहने, जीवनशैली नियमित राख्ने, नियमित शारीरिक व्यायाम गर्ने, दैनिक कार्यमा नियमितता ल्याउने जस्तो कि खाने, काम गर्ने, सुत्ने, शौचालय जाने समयलाई नियमित गर्ने, चिया कफी कम पिउने गर्नु पर्छ। यसका साथै दिनहुँ एउटै समयमा दिसा गर्ने बानी गर्नु पर्छ।
(होमियोप्याथी चिकित्सक डा सरिना गुरागाईंसँगको कुराकानीमा आधारित)
तपाईंको ईमेल गोप्य राखिनेछ ।