पाल्पा : तानसेन-रानीमहल हुँदै स्याङ्जाको बिर्घा जाने सडक दुई महिनापछि सञ्चालनमा आएको छ।
गत भदौमा पहिरोले सडक बगाएको थियो। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ सटुकास्थित सडक पहिरोले बगाएको थियो। सडक पूर्णरूपमा अवरुद्ध थियो।
कालीगण्डकी गाउँपालिकाले सडक मर्मत गरेको छ। यो सडक मर्मत गर्नुपर्ने पूर्वाधार विकास कार्यालय स्याङ्जाको जिम्मेवारी थियो। लामो समयसम्म पनि उक्त कार्यालयले बेवास्ता गरेपछि गाउँपालिका आफैंले सडक मर्मत गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।
‘हामीले पटकपटक पूर्वाधार विकास कार्यालयमा खबर गर्यौं`‚ उनले भने‚ ´कुनै सुनुवाइ नभएपछि गाउँपालिकाको आफ्नै खर्चमा सडक मर्मत गरेका हौं।` कार्यालयबाट हेर्न आए तर काम गरेनन्। जनताले पटकपटक गुनासो गरेपछि सडक मर्मत गरिएको थापाले बताए।
यहाँका जनताले पैदल हिँड्नुपर्ने बाध्यता भयो। विरामीसमेत बोकेर हिँड्नुपर्ने अवस्था आएपछि मर्मत गरिएको उनले बताए। उनका अनुसार सटुकाका जनतालाई वडा कार्यालय र गाउँपालिका कार्यालय आवतजावत गर्न पनि सास्ती थियो।
गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट सडक मर्मत गरिएको हो। काम थालेको करिब १५ दिनमा सडक सञ्चालन भएको हो। आठ लाखभन्दा बढी खर्चमा सडक मर्मत गर्ने काम सम्पन्न भएको गाउँपालिकाका सिनियर सब इन्जिनियर पूर्णबहादुर रानाले बताए।
‘लगातारको वर्षासँगै आएको पहिरोले सडक बगाएको थियो`‚ उनले भने‚ ´सडकभन्दा तलबाट गेबियन वाल उठाइएको छ।` यो सडक हेर्ने पूर्वाधार विकास कार्यालय स्याङ्जाले समयमै मर्मत नगरेपछि गाउँपालिका आफैले मर्मत गरेको हो। इन्जिनियर रानाकै नेतृत्वमा मर्मत गरेर सडक सञ्चालन भएको हो।
यो सडकबाट स्याङ्जाको पश्चिम भेगका जनतालाई तानसेन आइपुग्न छोटो हुन्छ। बुटवल, पाल्पा पुग्न छोटो दूरी हुने भएकोले गुल्मीको पूर्व र पर्वतको पश्चिम भेगका मानिसले यो सडक प्रयोग गर्छन्।
२०७२ सालमा टेण्डर आह्वान भए पनि यो सडक स्तरोन्नति गर्ने काम अगाडि बढेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।