कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम कायमै

|

काठमाडौँ : नेपालमा डेंगुका ४ प्रकारका भाइरसमध्ये ३ वटा सक्रिय रहेको पाइएको छ। 

डेंगुका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए। 

७ वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३ र सेरोटाइप–४ सक्रिय रहेका थिए। “भाइरसको जीन अध्ययन गर्दा अहिले ३ प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ”, उनले भने। 

शाखाका प्रमुख डा दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम रहेको बताए। उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेंगु सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए। 

डेंगु हुम्लाबाहेक बाँकी सबै ७६ जिल्लामा देखिएको छ। देशभरि २७ हजार १५३ जना डेंगुका विरामी भएका छन् भने डेंगुबाट अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ। 

कास्कीमा सबैभन्दा बढी ७ हजार विरामी

सबैभन्दा बढी कास्कीमा ७ हजार ८० जना डेंगुका विरामी देखिएका छन्। 

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु लाग्छ। 

उपत्यकामा डेंगुका ५ हजार ७४८ जना विरामी देखिएका छन्। काठमाडौँ जिल्लामा ४ हजार ६० जना,  भक्तपुर ६२८ जना र ललितपुरमा १ हजार ६० जनामा डेंगु देखिएको छ। 

वर्षाको वेला पानी जम्मा गरेर राख्ने र यस्तो पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुका विरामी बढेका हुन्। 

डेंगुका विरामी बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न निर्णय सरकारले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.