पटाका विक्री वितरण गरे ३ वर्षसम्म कैद
पटाका विक्री वितरण गरे ३ वर्षसम्म कैद
काठमाडौँ : नेपालीहरूको दोस्रो महान् चाड तिहार सुरु भएको छ। विशेषगरी तिहारमा भाइटीका र देउसीभैलोको रमझमसँगै बढी बालबालिका पटाका पड्काएर रमाइलो गर्छन्। कानुनअनुसार पटाका किनबेच गैरकानुनी हो।
त्यसैले काठमाडौँ उपत्यकाका दुई जिल्ला प्रशासन कार्यालयले तिहारका वेला पटाका पड्काउन र बिक्री वितरणमा निषेध गरेको छ। तैपनि विशेषतः हिजोदेखि उपत्यकामा पटाका पड्कन थालेको छ। विशेषगरी रातिको समयमा पटाका पड्काएको आवाज सुनिन थालेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कात्तिक ८ गते नै सूचना जारी गर्दै शान्ति सुरक्षामा असर पर्ने गरी काम नगर्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानूनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, भुइँचम्पा, पटाका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवं प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण गर्ने काम नगर्न/नगराउन अनुरोध छ।’
त्यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि कात्तिक १२ गते नै सूचना जारी गर्दै तिहारमा भुइँचम्पा, पटाका‚ आतिसबाजी प्रज्वलनशील तथा विष्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्न/नगराउन अनुरोध गरेको छ। ‘तिहारको अवसरमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ’‚ भुइँचम्पा, पटाका, आतिसबाजी प्रज्वलनशील तथा विष्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्नु/नगराउनु हुन अनुरोध छ’, सूचनामा उल्लेख छ।
तर अनुगमन गरी पटक विक्री वितरण र पड्काउने व्यक्तिलाई कारबाही भने गरिएको छैन।
पटाका बिक्री वितरण गरेको पाइए ३ वर्षसम्म कैद
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ। उक्त व्यवस्थामा भनिएको छ, ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’
सामान्य विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिक क्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी,पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनुपर्छ भनी स्पष्टीकरणमा उल्लेख छ। उपदफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ।(ख)मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र (ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद तीस हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ। यहीअनुसार कारबाही हुने काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ।
गृह मन्त्रालयले भन्यो : नियन्त्रण र कारबाही गर्न सर्कुलर जारी गरिएको छ
गृहमन्त्रालयले तिहारका वेला पटाका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने कार्य रोक्न ७७ वटै जिल्लालाई सर्कुलर जारी गरि सकिएको जनाएको छ।
गृहमन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले भने,‘पटाकाजन्य पदार्थमा पूर्ण रूपमा बन्देज लगाइएको छ, शान्ति सुरक्षामा असर पर्ने गरी कुनै पनि कार्य गर्न पाइँदैन। यसका लागि नियन्त्रण र कारबाही गर्न मन्त्रालयले सबै जिल्ला प्रशासनमा सर्कुलर जारी गरिएको छ, प्रहरी,सशस्त्र प्रहरीलाई पनि जानकारी गराइएको छ, उनीहरूबाट नियन्त्रण हुन्छ।’
उनले पटका नियन्त्रणमा सरकारसँगै मिडिया,सर्वसाधारणहरूको पनि प्रमुख भूमिका रहने बताए। ‘यदि तपाईंहरूले पनि पटक पटक विक्री गरेको पाइए,पड्काएको पाए नजिकको प्रहरीलाई खबर गर्नसक्नुहुन्छ,तपाइ हामी सबैको भूमिकामै त्यस्ता कार्य रोक्न सक्छौँ,’उनले भने।
उनले सरकारबाट पटाकाजन्य पदार्थको ओसारपसार बन्द गरेको र सिमानामा कडाइका साथ चेकजाँच भइरहेको दाबी गरे। तैपनि उपत्यकाका पसलहरूमा पटाका पाइन्छ। ‘त्यो चाहिँ लुकिछिपी ल्याएको हुनसक्छ, नभए त सरकारले ल्याउन बन्द नै गरेको छ,’उनले भने।
‘कानुनले निषेध गरेका गतिविधि गरे कारबाही गर्छौ’
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कानुनले निषेध गरेका गतिविधि गरे कारवाही गर्ने बताए। ‘ऐतिहासिक महत्त्व बोकेका सांस्कृतिक गौरवका यी चाडपर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्याय पूर्ण समाज निर्माण गर्न प्रेरक रहेका छन्, कानुनले निषेध गरेका यस्ता गतिविधि गरे/गराएमा कानून बमोजिम कारवाही हुन्छ’, उनले भने।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पनि कानुन विपरीतका कार्य भए कारबाही हुने बताइन्। ‘कोही कसैले उल्लिखित नियमको पालना नगरी कानुनको बर्खिलाप हुने गरी क्रियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’उनले भनिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।