|

दाङ : शान्तिनगर  गाउँपालिका ६ सुनडवरीका इजन केसी र उनका २ जना साथीले विगत ३ वर्षदेखि सयपत्री फूलखेती गर्दै आएका छन्। आफ्नै करिब १० कठ्ठा जग्गामा सयपत्री फुलको खेती गर्दै आएको केसीले बताए। 

उनका अनुसार शुरुका वर्षमा फुलबाट राम्रो  आम्दानी भएयता पनि गत वर्ष कम भएको थियो। उनले भने, ‘शुरुको वर्ष प्रतिकिलो ८ सयसम्म बिक्री भएको थियो। गत वर्ष एक सयदेखि ३ सयसम्म बिक्री हुँदा २÷३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको थियो, भने करिब २ लाख रुपैयाँ बराबरको बिक्री भएको थियो। यस वर्ष फुल राम्रो भएको र सबै बिक्री हुने आश रहेको छ।’

उनका  अनुसार जग्गा आफ्नै भएयता पनि भाडा दिने गरिएको छ। आफूसहित ३ जनाको पार्टनरमा खेती गरेको भन्दै उनले यस जग्गामा अन्य बाली लगाउने गरेको हुँदा त्यसैको मूल्य बराबरको भाडा दिने गरेको समेत बताए। उनले भने,‘ हामी ३ जना रहेका छौँ। अरु २ जना साथीहरूले बजारिकरण हेर्नु हुन्छ। मैले फुलको हेरचाह गर्ने गरेको छु। गाउँमा फूलखेती गरिएको हुँदा एक जनाले तुलसीपुर र एक जनाले घोराही बजारमा बिक्री गर्नुहुन्छ।’

कर्मा ५५५ नाम सयपत्री फुलको २५ सय बढि  बोटहरू रहेको र एक लाख भन्दा बढि लगानी लागेको समेत उनको भनाइ छ। उनका अनुसार अहिले फूल रोपिएको ठाउँमा पछि विभिन्न तरकारी खेतीसमेत गरिन्छ। अहिले तिहार लक्षितमा फूलखेती गर्दै आएको भन्दै उनले सधैँभरि उत्पादन गर्नको लागि टनेल तथा चिस्यान केन्द्र भएमात्र सम्भव हुनेसमेत बताए।

 उनले भने, ‘अन्य समयको लागि फुल उत्पादन गर्दा निकै समस्या हुन्छ। यदि उत्पादन गरे पनि बिक्री नभएपछि नोक्सानी मात्र हुने हो। त्यसको लागि गाउँपालिकामा चिस्यान केन्द्र  भएमा सहज हुने  थियो। अहिले हामीले विशेषगरी तिहार लक्षित मात्र फूलखेती गर्ने  गरेका छौँ। पछि विभिन्न खालको तरकारी खेती गर्दै आएका छौँ।’  उनका अनुसार यसपटक एक हजार किलो सयपत्री  फुल उत्पादन हुने अनुमान रहेको  छ।

विगतका वर्षको तुलनामा जिल्लामा  यस पटक खासै फुलहरू नभएको  हुँदा  यसपटक सबै बिक्री हुने आस रहेको  समेत उनले बताए।  प्रतिकिलो ३ सयका दरले होलसेलमा बिक्री गरेको उनको भनाइ छ।

यस्तै उनले पछिल्लो  समय युवाहरू विदेश गइरहेको अवस्थामा आफ्नो विषय नै कृषि रहेको हुँदा यो पेशालाई अङ्गालेको समेत बताए। उनले देश  मै केही गरौँ,  लाग्ने भएयता पनि सबैभन्दा ठुलो समस्या बजारिकरण हुने गरेको बताए।

उनी बबई  गाउँपालिकाको हापुरेमा रहेको विद्यालयमा  पढाउँदै आएका छन्, भने साँझ बिहानको समयमा यो पेशामा समय दिने गरेका छन्।

यस्तै उनले राज्यले किसानहरूलाई मूल्याङ्कनका आधारमा सहयोग गर्नुपर्नेसमेत बताए। उनले भने,‘ राज्यले किसानहरूलाई सिधै पैसा दिनु पर्दैन। जुन किसानलाई आवश्यक पर्ने के छ, त्यही दिए हुन्छ। यहाँ पहुँच नहुनेको  केही पनि लाग्दैन, र पाउन  पनि सक्दैन। त्यसका कारणले गर्दा पनि युवाहरू विदेश पलायन भइरहेका छन्।’

यस्तै तुलसीपुर उपमहानगरपालिका १७ बनकट्टीस्थित नेपाल संस्कृत विश्वविद्यालयको ३५ बिगाहा जमिन भाडामा लिएर गत वर्ष   १६ बिगाहामा फूलखेती गरेका बुद्धिराज पौडेलले यस पटक एक बिगाहा ४ कठ्ठा जग्गामा मात्र खेती गरेका छन्।

गत वर्ष उत्पादन भएको फूलहरू बिक्री नहुँदा  २५ लाख बढि नोक्सानी भएपछि यस पटक थोरैमा गरेको उनको भनाइ छ। गत बर्ष धेरैमा फूलखेती गर्दा जोखिम धेरै भएको र फुलको बिक्री कम हुँदा नोक्सानी धेरै भएको हुँदा यस पटक कममा खेती गरेको बताए।

उनका अनुसार गत वर्ष स्थानीय फुल तथा भारतबाट सस्तोमा फुल आउँदा करिब २५ लाख बराबरको नोक्सानी भएको थियो। यस पटक स्थानीय बजारलाई मध्यनजर गरेर नै खेती गरेको समेत उनको भनाइ थियो। गत वर्ष स्थानीय सरकारले प्लाष्टिक फूलहरू निषेध गरेको भएयता पनि भारतबाट आएको फुलका कारण आफूहरु उत्पादन गरेको फुलले बजार नपाएको समेत उनले बताए।

यस्तै, उनले जिल्लामा तिहारको बेलामा मात्र सयपत्री फूलखेती गर्नेहरुको कारण पनि आफूहरु जस्ता व्यवसायिक रुपमा फूलखेती गर्दै आइरहेकाहरुलाई असर गर्ने समेत बताए। उनले भने,‘ हामीले व्यवसायिक रुपमा खेती गर्दै आएका छौँ। तर, यहाँ तिहार लक्षित हुने खेतीका कारण मूल्यमा  समानता नहुँदा पनि असर हुने गरेको छ। यसमा स्थानीय सरकार ध्यान दिन जरुरी हुन्छ।’

यस्तै उनले अहिले भन्दा बेमौसमीमा आफूहरुको लगायत धेरै लगाएर भएयता पनि फुलहरू बिक्री गर्ने गरेको भएयता पनि अहिले सिजनको समय बजारिकरणमा समस्या हुँदा घाटा व्यर्होनु परेको समेत बताए। 

विगतका बर्षहरुमा बजार माग राम्रो भएको भन्दै फूलखेतीमा हौसिएका दाङका किसानको संख्या र खेती हुने क्षेत्रफल यो वर्ष झन्डै दुईतिहाइले घटेको छ। गत वर्ष २० विगाहाभन्दा बढी क्षेत्रफमा भएको दाङको फूलखेती यो वर्ष ६ विगाहामा झरेको छ।

भारतबाट सस्तो मूल्यको फूलको आयात नरोकिएकाले स्थानीय फूलले बजार नपाउँदा केही किसान विस्थापित नै भएका छन् भने कतिले थोरै क्षेत्रफलमा मात्रै फूलखेती गरेका छन्।  २०७१ सालमा घोराहीमा १ कठ्ठाबाट फूलखेती सुरु गरेका लोकेन्द्र रोका मगरले क्षेत्रफल बढाउँदै दुई बिगाहा पुर्याएका थिए। तर, गत वर्ष ५ लाख घाटा लागेपछि उनले क्षेत्रफल घटाएर खेती गरेका छन्।  त्यस्तै घोराही १३ मा फूलखेती गरेकी इन्द्रा बुढाले पनि गत वर्षको ३ लाख घाटा अहिले पूर्ति हुन्छ कि भन्ने आशामा १० कठ्ठा क्षेत्रफलमा मात्रै फूलखेती बताइन्।   

२०६५ सालमा केही कठ्ठाबाट सुरु भएको दाङको व्यावसायिक फूलखेती घोराही, तुलसीपुर, रामपुर क्षेत्रमा विस्तार हुँदै २० बिगाहा नाघेको थियो। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा  विवाह व्रतबन्धलगायतका उत्सवदेखि सभासमारोह तथा अन्य प्रयोजनका लागि जिल्लामा दैनिक १ क्विन्टल फूल खपत हुने गरेको छ।

दैनिक २÷ ३ क्विन्टल फूलको उत्पादन हुँदा  बुटवल, नारायणगढ पोखरा बाग्लुङदेखि नेपालगञ्ज, धनगढीसम्म बिक्री हुने गरेको थियो। वार्षिक दुईदेखि ३ करोडसम्म आम्दानी गरेर जिल्लालाई फूलमा आत्मनिर्भर बनाएका किसान घट्दै गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.