लुम्बिनी र सुदूरपश्चिमबीच बुधवार फाइनल

|

विराटनगर : विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यू–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। 

सुदूरपश्चिम आजको जितसँगै ६ खेलबाट १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ।

तियोगिताअन्तर्गत सोमवार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित पाएको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमध्ये ४५ ओभरमा सबै विकेट गुमाई १३३ रनको योगफल बनायो। 

कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिस थापाले २२ रन र युनिस ठकुरीले २१ रनको योगदान दिए। 

मधेशका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए। 

१३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव २ बलमा सबै विकेट गुमाई ८६ रनमा सीमित हुन पुग्यो। मधेशका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए। 

कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिए भने युनिस ठकुरीले ३ विकेट लिए। 

कर्णालीले खेलेको ५ खेलमध्ये यो नै पहिलो जित हो र यो जितसँगै २ अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ भने मधेशले खेलेको ५ खेलमध्ये २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथ पाँचौँ स्थानमा रहेको छ। 

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्का खेलमा सुदूरसँग कोशी प्रदेशले १२३ रनको लज्जास्पद पराजय भोगेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ बलमा सबै विकेट गु्माई १८३ रन बनायो। 

सुदूरका सूवराज खत्रीले ४४ रन बनाउँदा अविशेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए। 

कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए। 

१८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रनमात्र बनाउन सक्यो र फराकिलो रन अन्तरले पराजित भयो। 

कोशीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रन बनाउनुबाहेक अरु ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा लज्जास्पद पराजय बेहोर्न पुग्यो। 

सुदूरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए। उनले ६ ओभरमा २ मेडन राख्दै ७ रनमात्र दिए भने नरेन भट्टले पनि ४ विकेट लिए। 

सुदूरले खेलेका सबै ५ खेल जितेर १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने कोशीले खेलेका ६ खेलमध्ये १ खेलमा जित र ५ खेलमा पराजित हुँदै २ अंकका पुछारबाट दोस्रो स्थानमा रहेको छ। 

अंक तालिकाको शीर्षमा रहेको लुम्बिनी प्रदेशसँग सुदूरपश्चिमको उपाधि भिडन्त हुनेछ। उपाधिका लागि पर्सि (बुधवार) लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ। 
सातवटै प्रदेशको सहभागिता रहेको प्रतियोगिता सिंगल राउण्ड रोबिनमा सञ्चालन भएको र अंक तालिकाको शीर्षमा रहने २ टोलीले फाइनल खेल्न लागेका हुन्।

मंगलवार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र कर्णाली प्रदेशबीच अन्तिम लिग खेल हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.