नारायणगढ : जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ। जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष असर गैँडामा पर्ने विज्ञहरूले बताएछन् ।
मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, जलवायु परिवर्तनको प्रभावले गैँडामा पर्ने असरबारे विद्यावारिधि गरेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जलवायु परिवर्तनको असरले आगामी ५० वर्षभित्र गैँडाको वासस्थान खुम्चिने दाबी गर्छन्।
‘कुल भूभागको दुई प्रतिशत मात्रै अहिले नेपालमा गैँडाका लागि वासस्थान योग्य क्षेत्र छ। यो क्षेत्रमा पनि ५० वर्षपछि ३० प्रतिशतभन्दा बढी खुम्चिने अवस्था छ’, उनले भने, ‘अतिवृष्टि भयो भने बाढीले असर गर्छ, अनावृष्टि भयो भने पानीका मुहान सुकेर संरक्षित क्षेत्रमा वन्यजन्तुका लागि पानीको अभाव हुन्छ । अतिवृष्टिको प्रभाव त अहिले नै देखिएको छ।’
२०७४ साल साउन २८ गते नारायणी नदीमा आएको बाढीले १३ वटा गैँडा बगाएर भारतीय क्षेत्रमा पुर् यायो । तीमध्ये नौवटा उतैबाट उद्धार गरेर ल्याइयो भने चार वटा नेपालतर्फ त्रिवेणीमा फर्केका बेला उद्धार गरेर ल्याइएको अभिलेख निकुञ्जसँग छ । नारायणी, राप्ती जस्ता ठूला नदी रहेको चितवन राष्ट्रिय निकुञ्जमा अहिले पनि हरेक वर्ष जसो बाढी आइरहेको छ तर कति गैँडा बगाएको छ भन्ने यकिन तथ्याङ्क निकुञ्जसँग पनि छैन ।
भारतले पनि नदीमा बगेर पुगेका गैँडा उतै संरक्षण गर्न थालेपछि त्यसलाई उद्धार गरेर ल्याउन सक्ने अवस्था नभएकाले पनि यसको यकिन तथ्य आउन नसकेको निकुञ्जका कर्मचारीको भनाइ छ ।
बाढी जस्तै अनावृष्टिले पनि तापक्रम बढाउँछ । तापक्रम बढेसँगै संरक्षित क्षेत्रका तालतलैया सुक्ने र गैँडाका लागि आहाल खेल्ने क्षेत्रसमेत नहुने अवस्था आउने डा.पन्तको निष्कर्ष छ । नेपालमा सबैभन्दा बढी गैँडा रहेको चितवन राष्ट्रिय निकुञ्जमा नारायणी, राप्ती, रिउसँगै एक सयभन्दा बढी साना साना घोल तथा पोखरी छन् । यीमध्ये आधाभन्दा बढी अहिले पनि हिउँदमा सुक्छन् ।
जलवायु परिवर्तनको असरले अहिले जसरी नै तापक्रम बढ्दै जाने हो भने ५० वर्षको अन्तरालमा सबै घोल तथा पोखरी सुक्न सक्ने पन्तको अध्ययन निष्कर्ष छ ।
जलवायु परिवर्तनका कारण जैविक विविधतामा असर पर्दा कतै नेपालको पहिचान मानिने गैँडाको अस्तित्व सकिने त होइन भनेर अहिले नै चिन्ता गर्नुपर्ने वेला आएको उनले बताए।
‘यदि संरक्षित क्षेत्रमा कुनै समस्या आए बाघ, हात्ती जस्ता जनावर त चुरे र महाभारत पहाड शृङ्खलामा पनि रहन सक्छन् तर गैँडाका लागि यो क्षेत्र अनुकुल छैन’, उनले भने। ५० वर्षमा गैँडा लोप नै भएर जाने अवस्था नभए पनि समय अनुकूल वासस्थान सुधार गर्न नसके गम्भीर असर गर्ने अध्ययनको निष्कर्ष छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।