आफ्नो उम्मेदवार नउठाएको ठाउँमा स्वतन्त्रलाई सघाउने रास्वपा नीति

|

काठमाडौं : दशैँतिहार सकिएसँगै दलहरूको ध्यान स्थानीय तह उपनिर्वाचनमा केन्द्रित भएको छ। स्थानीय तहमा रिक्त विभिन्न ३९ पदका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदै छ।

जिसस प्रमुखसहित स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुन एक वर्षभन्दा बढी समय बाँकी छँदै कुनै कारणले पद रिक्त भएमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही नियमानुसार आगामी १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन हुन लागेको हो।  

निर्वाचन आयोगको विवरणअनुसार नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष २१ तथा गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडाध्यक्ष ९ गरी कुल ३७ पद रिक्त छन्। दुई जिल्ला समन्वय समिति (जिसस) प्रमुखको पद पनि खाली छ। 

सबैभन्दा धेरै नेपाली कांग्रेसले जितेका स्थानीय तहका पद रिक्त छन्। २०७९ वैशाखको आवधिक निर्वाचनको विवरणअनुसार यसअघि कांग्रेसले जितेका २३, एमालेले जितेका ७, माओवादीले जितेका ६ र जसपा नेपालले जितेका १ ठाउँमा उपनिर्वाचन हुँदै छ।

उपनिर्वाचनका लागि केही दलले उम्मेदवार छान्ने काम शुरु गरिसकेका छन् भने अन्य दलमा कहाँ कसलाई उम्मेदवार बनाउने भन्नेबारे व्यापक छलफल भइरहेको छ। सत्तारुढ दलहरू कांग्रेस र एमाले एक्लाएक्लै लड्दा प्रमुख प्रतिपक्षी माओवादी लगायतका साना दलहरू भने मिलेर लड्ने मनस्थितिमा छन्। त्यसका लागि स्थानीय परिस्थितिको विश्लेषण गरिरहेका छन् । 

एमाले र प्रमुख प्रतिपक्षी माओवादीले कीर्तिपुर नगरपालिका प्रमुखका लागि पार्टीको  उम्मेदवार टुंग्याइसकेका छन् । एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ। 

माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कीर्तिपुरमा मेयरसहित दुई वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदै छ। माओवादीले वडा नं. १ मा अष्टमान महर्जन र वडा नं. ४ मा नारायण विष्टलाई उम्मेदवार बनाएको छ। 

राप्रपाले ध्रुव महर्जनलाई कीर्तिपुरको मेयरमा अघि सारेको छ। यसबाहेक अन्य पालिकामा भने कुनै पनि दलले उम्मेदवार घोषणा गरिसकेका छैनन्। कांग्रेसले र्कीर्तिपुरकै मेयरको उम्मेदवार टुंग्याएको छैन। 

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा छिटो सबै ठाउँको उम्मेदवार टुंग्याउने केन्द्र निर्देशन दिइसकेको पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बताइन्। कांग्रेसमा वडाको उम्मेदवार क्षेत्रीय समितिले टुंग्याउँछ भने पालिकाको उम्मेदवार जिल्ला समिति तथा नगरपालिकाको उम्मेदवार प्रदेश समितिले टुंग्याउँछ। 

यसबारे छलफल गर्न कांग्रेसले बुधबार प्रदेशसभापति सहितको बैठक बोलाएको छ। ‘हामीले सम्बन्धित निकायलाई छिटो गर्नुस् भनिसकेका छौँ। थप छलफल र रिपोर्ट भोलिको बैठकमै थाहा होला’, सहमहामन्त्री डिनाले भनिन्, ‘निर्वाचनकै लागि भने पदाधिकारीलगायत प्रदेश सभापतिहरूको बैठक पार्टी कार्यालयमा बस्दैछ । त्यसपछि छिट्टै सबै ठाउँको उम्मेदवार टुंगो लाग्छ।’

तालमेलको मनस्थितिमा माओवादी र एकीकृत समाजवादी

उपनिर्वाचनका सन्दर्भमा छलफल गर्न २३ कार्तिकमा माओवादी पदाधिकारी बैठक बस्दै छ। उक्त बैठकले उपनिर्वाचनमा के कसरी अघि बढ्ने भन्ने विषय टुंग्याउने माओवादी सचिव दीनानाथ शर्माले जानकारी दिए। 

एक्लै लड्ने आफूहरूको जोड भए पनि स्थानीय परिस्थिति बुझेर ठोस नीति बनाउने सचिव शर्माले बताए। ‘आफ्नै बलबुतामा चुनाव लड्नुपर्छ भन्ने हो। यद्यपि सम्बन्धित ठाउँको स्थानीय परिस्थिति हेरेर के कसो गर्ने भन्ने टुंग्याउँछौं’, उनले थपे, ‘यो सँग वा त्योसँग भन्ने छैन। परिस्थितिको विश्लेषण गरेर नै टुंगो लगाउँछौं।’

सानो पार्टी भएर पनि आन्तरिक विवादले ग्रस्त एकीकृत समाजवादी एक्लैभन्दा तालमेल गरेर लड्ने मनस्थितिमा देखिन्छ। वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएर तयारी गरिरहेको उसले स्थानीयस्तरको परिस्थितिअनुसार जुनसुकै दलसँग पनि तालमेल गर्ने नीति अपनाएको छ।

‘कतिपय ठाउँमा मिलेर वा कतिपयमा एक्लै पनि लड्ने भन्ने छ। तालमेल यो वा त्यो दलसँग भन्ने छैन, त्यहाँको परिस्थितिअनुसार जोसँग पनि हुन सक्छ’‚ पार्टी सचिव श्रीनाथ बराल भन्छन्, ‘अहिले खासगरी जिल्ला तहले परिस्थिति बुझ्ने काम गरिरहेको छ। अब छिट्टै उम्मेदवारहरू टुंग्याउँछौं।’  

आफ्नो उम्मेदवार नउठाएको ठाउँमा स्वतन्त्रलाई सघाउने रास्वपा नीति

गत आमनिर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि उपनिर्वाचनमा सहभागी हुँदै छ। उसले सांसदसमेत रहेका नेता गणेश पराजुलीको नेतृत्वमा स्थानीय उपनिर्वाचनका लागि कमिटी नै बनाएर तयारीको काम गरिरहेको छ।

यद्यपि उम्मेदवारहरूका सन्दर्भमा भने टुंगो लागिनसकेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनले भने, ‘हामीले उपनिर्वाचनमा भाग लिने पक्का हो तर उम्मेदवार कहाँ को भन्ने विषयमा छलफल भइरहेको छ। यसका लागि उपनिर्वाचनकै लागि बनेको समितिले काम गरिरहेको छ। परिस्थिति बुझेर उम्मेदवार छनोट गर्छौं।’

उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार अघि नसारिने ठाउँमा स्वतन्त्र उम्मेदवारलाई सघाउने रास्वपा नीति छ। यद्यपि सबै ठाउँमा आफ्नै उम्मेदवार उठाउने प्रयास गर्ने प्रमुख सचेतक परियारले बताए। 

उनले भने, ‘पहिलो त सबै ठाउँमा आफ्नै उम्मेदवार उठाउने हो। यद्यपि कतिपय ठाउँमा स्वतन्त्रलाई सहयोग गर्न सकिन्छ। त्यसको पूरै रणनीति बन्दै छ।’ 
राप्रपा, जसपा, जसपा नेपाल, लोसपालगायतका दल पनि उपनिर्वाचनको तयारीमा व्यस्त छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.