अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन्। ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्।
विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र युक्रेनलाई संकेत गर्दै अब युद्ध नहुने बताएका हुन्।
उनले भने, 'धन्यवाद अमेरिकी जनतालाई! यो अमेरिकी जनताको जित हो। म तपाईंको परिवार र भविष्यका लागि लड्नेछु। यो अमेरिकाको ‘स्वर्ण युग’ हो। यो अमेरिकी जनताका लागि ठूलो विजय हो र यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्नेछौँ। यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वाचन हो। हामी अमेरिकाको भविष्यका लागि सँगै काम गर्नेछौं।‘
जनताले हामीलाई धेरै राम्रो बहुमत दिएको उनले सम्बोधनमा भनेका छन्।
‘मेरो जित देशका हरेक नागरिकको जित हो। सिनेटमा अकल्पनीय जित भएको छ। म अमेरिकाका लागि जे जति गर्न सक्छु त्यो गर्नेछु। यति ठूलो जितको अपेक्षा कसैले पनि गरेका थिएनन्। हाम्रो देशका सबै समस्याको समाधान हुनेछ। उपराष्ट्रपतिलाई पनि बधाई दिन चाहन्छु। अब हामी कुनै पनि युद्ध हुन दिनेछैनौँ। मैले देशको हरेक भागबाट समर्थन पाएको छु। अमेरिकामा घुसपैठ रोक्नेछौँ’, उनले थपेका छन्, ‘ हामी युद्ध अन्त्य गर्न चाहन्छौँ। मेरो हरेक क्षण अमेरिकाका लागि हो। हामीले जे वाचा गर्छौँ त्यो पूरा गर्छौँ। यो दिनलाई सम्पूर्ण अमेरिकाले सम्झनेछ। देशलाई उज्ज्वल भविष्यतर्फ लैजान्छौँ। विगत ४ वर्षमा हामीलाई कुन कुराले विभाजित गर्यो, त्यो बिर्सनुहोस्। म एलन मस्कलाई बधाई दिन्छु, उनी अद्भुत व्यक्ति हुन्। जुलाई १३ मा ममाथि घातक हमला भयो‚ भगवान्ले मेरो जीवन बचाउनुभयो।’
के छन् उनका वाचा?
राष्ट्रपति चुनावमा उनले विभिन्न वाचाहरू गरेका थिए। अर्थव्यवस्था ट्रम्पले मुद्रास्फीति अन्त्य गर्ने तथा अमेरिकालाई फेरि सस्तोमा सामान किन्न सकिने देश बनाउने, ब्याजदर घटाउने उनको दावी छ तर, ब्याजदर सरकारको नियन्त्रणमा छैन। उनले अमेरिकामा बस्ने कागजपत्र नभएका आप्रवासीलाई फिर्ता पठाउँदा आवासको बोझ कम हुने र मानिसहरूले घर पाउनसक्ने जिकिरसमेत गरेका छन्। ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो गैरकानूनी आप्रवासीलाई देश निकाला गर्न सक्नेछन्।
उनी अमेरिकालाई संसारको कुनै पनि ठाउँमा हुने द्वन्द्वबाट टाढा राख्न चाहन्छन्। उनले रुससँग सम्झौता गरेर २४ घण्टामा युक्रेन युद्ध अन्त्य गर्ने बताएका छन्। ट्रम्पले आफूलाई इजरायलको कट्टर समर्थकको रूपमा प्रस्तुत गरेका छन् तर उनले गाजा युद्धको अन्त्य कसरी गर्ने भन्ने बारेमा बोलेका छैनन्।
ट्रम्पले करलाई आफ्नो चुनावी अभियानको मुख्य नारा बनाएका थिए। विदेशबाट आउने सामानमा १० देखि २० प्रतिशत महशुल लगाउने उनले बताएका थिए। जब कि चीनबाट आउने सामानमा पनि उच्च शुल्क लगाइने उनले उल्लेख गरेका थिए।
ट्रम्पले जितेपछि के हुन्छ?
ट्रम्पको जसरी उदय भयो यो आफ्नो अपराध लुकाउन गरिएको फण्डा रहेको परराष्ट्र मामिलाका जानकार उद्धव प्याकुरेल बताउँछन्। ट्रम्पको व्यक्तिगत जीवन हेर्ने हो भने कर नतिर्ने तथा अपराधिक गतिविधिमा संग्लन हुने त्यसलाई ढाकछोप गर्न राजनीतिमा आउने उनको पुरानो प्रवृतिलाई अमेरिकाले अनुमोदन गरेको ठहरिएको प्याकुरेलले बताए।
‘यसले अन्य मुलुकमा पनि प्रभाव पार्छ। नेपालमा पनि त्यस किसिमका प्रवृतिहरू छन्। अपराध ढाकछोप गर्न राजनीतिमा आउने अझ मुख्य मन्त्रालय खोज्ने प्रवृति बढ्दो छ’, प्याकुरेलले भने, ‘ट्रम्पको विजयले अन्तरराष्ट्रिय रूपमा नै यसको अनुमोदन भएको मानिएको छ।’
ट्रम्पले सभ्य समाजले अपनाएका कतिपय कुराहरू अन्यथा प्रमाणित गर्न खोजेको भन्दै त्यस्ता शासकबाट सुसाशन र लोकतन्त्र कोमामा जाने प्याकुरेलको ठम्याइ छ।
‘आप्रवासन नागरिकलाई निकाल्ने कुरा गरिरहेका छन् यसले मान्छेको बाँच्न पाउने अधिकारमाथि तुषारापात हुन्छ। यसले नेपालीहरूलाई पनि प्रभाव पार्छ। सिमानाको विषय दोस्रो कुरा हो। पहिलो कुरा बाँच्न पाउने अधिकार सुनिश्चितता नै हो। यसको विरुद्धमा ट्रम्प छन्’, उनले भने।
बाँच्न पाउने अधिकारविरूद्ध ट्रम्प रहेकाले विश्वव्यापी रूपमा द्वन्द्व सिर्जना हुने प्याकुरेलको दावी छ। रूस-युक्रेन युद्ध रोक्ने ट्रम्पसँग कुनै भिजन नभएको उनले बताए। ‘युद्ध रोक्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न ट्रम्पले केही गर्न सक्दैन। रूस युक्रेनलाई आफ्नो मातहतमा नल्याउँदासम्म युद्ध रोक्दैन भने युक्रेनलाई ट्रम्पले रूसमा गाभ्न दबाब दिन्छन् वा के गर्छन्?’
युद्ध रोक्ने ट्रम्पको भनाइ भोट ल्याउने टेक्निक मात्र भएको उनले बताए। ट्रम्पका कारण एसियामा युद्धको संकेत देख्छन् प्याकुरेल। ‘चीन ट्रम्पको स्वागत गर्न तयार भएर बसेको छ। चीनका आफ्नै उद्देश्यहरू छन्। चीनको धेय ताइवान छ। यसले गर्दा ताइवानमाथि चLनको युद्ध ट्रम्पका कारण हुन सक्ने देखिन्छ।‘
त्यस्तै अर्का परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ ट्रम्पको विजयले युद्ध रोकिने दाjL गर्छन्। उनले भने, ‘ट्रम्पले युद्ध रोक्छन् तर ट्रेड वारचाहिँ जारी राख्छन्।‘
नेपाल चीनसँग जोडिएकाले बाइडेन प्रशासनले नेपाललाई शीतयुद्धको अखडा बनाएका वेला ट्रम्पले रोक्न सक्ने श्रेष्ठको आँकलन छ।
श्रेष्ठले रूस युक्रेन रोक्न तथा मिडल इस्टको तनाव कम गर्न बाइडेन प्रशासनभन्दा ट्रम्पले कूटनीतिक रूपमा काम गर्न सक्ने बताए। ‘ट्रम्पले युद्ध नचाहेको तर अमेरिकालाई आन्तरिक रूपमा बलियो बनाउन चाहेका छन्’, श्रेष्ठले भने, ‘'युद्ध रोकेको खण्डमा विश्वलाई नै सकारात्मक दिशा पैदा हुन्छ। यसको लाभ नेपालले पनि लिन सक्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।