|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकाल कुनै वेला सभापति रवि लामिछानेका मुख्य विश्वासपात्र थिए। पार्टी गठनअघिदेखि चिनजान भएर ‘किचन क्याबिनेट’कै रूपमा रहेका उनीहरूबीचको हार्दिकता लामो समय भने टिकेन। उनीहरू अहिले एकअर्काका प्रमुख राजनीतिक शत्रु हुन्।  

गत आमनिर्वाचनबाट अपत्यारिलो ढंगले उदाएको लामिछाने नेतृत्व रास्वपाले इलाम-२ को उपनिर्वाचनमा नराम्रो पराजय बेहोर्नु नै ढकालसँगको सम्बन्ध बिग्रिनुमा ‘टर्निङ प्वाइन्ट’ बन्यो। उपनिर्वाचनमा जमानतसमेत जोगाउन नसकेपछि पार्टीको अवस्थाबारे बुझ्न सभापति लामिछानेले ढकाललाई खटाए। 

त्यसपछि देशका ३८ जिल्ला पुगेर तयार पारेको ३२ पृष्ठ लामो आफ्नो प्रतिवेदनमा ढकालले पार्टी दुर्घटना उन्मुख रहेको र नसुध्रिए ‘विवेकशील साझाको हालत’मा पुग्ने खतरा औँल्याए। त्यसै विषयलाई लिएर अन्ततः ढकाल पार्टीबाटै घोक्र्याइए। 

सुरुमा महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निलम्बित ढकाल ११ भदौमा साधारण सदस्यबाट पनि हटाइए। कारबाहीअघि पार्टीले सोधेको स्पष्टीकरणमा उनले उल्टै सभापति लामिछानेलाई ठग, भ्रष्टाचारी र अपराधीको संज्ञा दिए। ती आरोप पुष्टि गर्ने प्रमाणसमेत आफूसँग रहेको दाबी उनको थियो। 

संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा २ कार्तिकमा पक्राउ परेका लामिछाने अहिले प्रहरी हिरासतमा छन्। आफू पार्टीको कारबाहीमा परेदेखि नै सभापति लामिछाने जेल जाने ठोकुवा गर्दै आएका ढकाल लामिछाने पक्राउ परेयता उनलाई हाइसञ्चो छ। 

अहिले रविमाथि थप अनुसन्धानका लागि प्रहरीलाई आवश्यक परे ती प्रमाण दिन आफू तयार रहेको ढकाल बताउँछन्। अहिलेसम्म भने प्रहरीले पनि नमागेको र आफूले पनि नदिएको उनले बताए।  

‘मैले संसदीय छानबिन समितिलाई पहिल्यै आफ्नो कुरा पुर्‍याएको हुँ। अब पनि यसमा आवश्यक सहयोग गर्नुपर्‍यो भने मसँग बकाइदा सबै कागज तथा प्रमाण छन्’, उनी भन्छन्, ‘सहकारी ठगीको भयो, पासपोर्ट दुरुपयोगका सबै प्रमाण छन्। प्रहरीलाई पनि आवश्यक परेको अवस्थामा मैले दिन सक्छु।’  

सुरुमा लामिछाने पक्राउ पर्ने हल्लापछि ६ असोजमा रास्वपाका नेता कार्यकर्ता पार्टी मुख्यालय वनस्थली पुगेका थिए। ‘त्यसलाई ढकालले ठग र भ्रष्टको बचाउमा ऊर्जा खर्चनु दुर्भाग्य’ भनेर टिप्पणी गरेका थिए। 

लामिछाने पक्राउ परिससकेपछि जारी सडक आन्दोलनलाई पनि ढकालले ‘रवि लामिछाने क्लबका सदस्यहरूको भीड’ भनेका छन्। उनको टिप्पणी छ, ‘आज रास्वपामा कोही छ त, म छु। एक्लै होला तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु। विधिको शासन, कानुनभन्दा माथि कोही छैन र राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु। कृपया मिडियाका साथीहरूले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भीड रवि लामिछाने क्लबका सदस्यहरूको हो।’

विगतमै ‘रविको क्लबबाट रास्वपा बनाउँ’ भनेर प्रस्ताव गर्दा आफूलाई पार्टीबाट घोक्र्याइएको ढकालको बुझाइ छ। अहिले एउटा व्यक्तिका लागि पार्टीलाई बलि बनाइएको उनी बताउँछन्। 

‘पहिलेदेखि रविको क्लब होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्ने मेरो कुरामा नै रविजीको चित्त नबुझेर यत्रो काण्ड भएको हो’, उनी थप्छन्, ‘रवि यस्ता कपुत हुन्, जसले आफ्ना लागि पार्टीलाई नै बलि चढाउन पछि पर्दैनन् भनेर मैले भनेको थिएँ। यो सबै आज आएर प्रमाणित हुँदै छ। उनका कुकर्मलाई म प्रमाणित गरिदिन सक्छु भनेर मैले भनेको थिएँ‚ सबै प्रमाणित हुँदै गएको छ।’

पार्टी हत्याउने दाउमा ढकाल !  

सुरुमा स्पष्टीकरणका लागि पाएको मौकासमेत सभापति लामिछानेमाथि आरोप थोपर्नमै खर्चिएका ढकाल पछिल्लो समय भने पुनः रास्वपमा फर्कन चाहन्छन्। त्यसका लागि उनले पार्टीमा दुईपटक निवेदन दिइसकेका छन्। 

सुरुमा महामन्त्री पदमा बहाल गराइपाऊँ भन्दै निवेदन हालेका ढकालले पछिल्लो निवेदनमा आफूमाथिको कारबाहीबारे पुनर्विचार गर्दै कम्तिमा पार्टीको साधारण सदस्य कायम राख्न आग्रह गरेका छन्। 

रास्वपा पुनरावेदन समितिलाई सम्बोधन गर्दै ढकालले यो निवेदन लेखेका हुन्। निवेदनमा पनि ढकालले आफूबाट पार्टी हितविपरीतको कुनै काम नभएको भन्दै कारबाहीको वैधतामा प्रश्न उठाएका छन्। 

अब पुनरावेदनपछि आफूप्रतिकूल नै रास्वपाले निर्णय गरे अदालत जाने तयारीमा ढकाल छन्। ‘कानुनी रूपले मलाई गरिएको कारबाही अवैधानिक छ। पुनरावेदन समिति र अनुशासन आयोगको निर्णय कुर्दा म अदालत जान ढिलाइ भएको हो’, उनी भन्छन्, ‘अहिले अनुशासन आयोग र पुनरावेदन समितिमा छ। यसबाट न्याय भएन भने म अदालत जान्छु।’

पार्टी नै कब्जा गर्ने उद्देश्यले ढकाल रास्वपामा फर्कन चाहेको उनकै भनाइले दर्शाउँछ। वर्तमान सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेल जाने पक्का भएको दाबी गर्दै उनी अब रास्वपा सम्हाल्ने जिम्मेवारी आफूमाथि आइसकेको बताउँछन्। 

लामिछाने जेल गएपछि आफूले उठाउँदै आएको कुरा सत्य प्रमाणित भई मुद्दाको हिसाबले आफ्नो जित हुने र अन्य नेताहरूसँग पनि आफूलाई स्विकार्नुको विकल्प नहुने उनी बताउँछन्।    

‘पार्टीमा फेस रवि भए फ्रेम चाहिँ मुकुल हो भन्ने छ। रविले त गल्ती गरेको देखिसकिएको छ, गल्ती गरेपछि जेल त जानैपर्छ। फेस गइसकेपछि साथीहरूले के भन्छन्, कसो भन्छन्। फर्कन त एकदिन फर्कन्छु’, उनी भन्छन्, ‘फेस हटिसकेपछि साथीहरूसँग अरु विकल्प हुँदैन। फेरि मैले बोकेका कुरा सत्य प्रमाणित हुन्छ भने मलाई त्यसपछि राजनीतिक रूपमा इन्कार गर्नुभयो भने त अराजनीतिक हुन्छ। म सही भइसकेपछि कसरी नमान्ने त?’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.