देशभर २८ हजार २१२ विरामी‚ १२ जनाको मृत्यु

|
सांकेतिक तस्वीर

काठमाडौँ : डेंगुको प्रकोप विगतका वर्षभन्दा कम भए पनि जोखिम घटेको छैन। जनवरी महिनायता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगु संक्रमण भएको छ। 

४०औँ हप्ताको गणना र तथ्यांकलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा विरामी थोरै छन्। अहिलेसम्म डेंगु ७६ वटा जिल्लामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए। 

उनले हुम्लाबाहेक सबै जिल्लामा डेंगुका विरामी फेला परेको बताए। डेंगुबाट यो वर्षको जनवरीयता १२ जनाको मृत्यु भएको छ। अक्टोबरमा ९ हजार ६६६ जना विरामी फेला परेको उनले बताए। 

उनले यो वर्ष मन्त्रालयको ४०औँ हप्ताको रिपोर्टले यस्तो देखाएको बताए। सन् २०२४ को जनवरीबाट शुरु गरेर ४०औँ हप्तासम्म आउँदा डेंगुका विरामी २८ हजार २१२ जना पुगेको उनले बताए।

उनले तीमध्ये डेंगु वा डेंगुसँग सम्बन्धित रोगले १२ जनाको मृत्यु भएको बताए। उनका अनुसार अक्टोबरमा डेंगुका विरामी ९ हजार ६६६ जना थिए‚ जुन अघिल्लो वर्षको तुलनामा थोरै हो। 

उनका अनुसार अघिल्लो वर्ष अक्टोबरमा डेंगुका १२ हजार ६९९ जना विरामी थिए। 

आधा विरामी गण्डकीमा

देशभरका डेंगुका विरामीको संख्यामध्ये आधा विरामी गण्डकी प्रदेशमा रहेका छन्। त्यसपछि बागमती, कोशी र अरू प्रदेशमा अलि देखिएको छ। 

जिल्लाको हिसाबमा सबैभन्दा धेरै कास्कीमा त्यसपछि काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर र चितवनमा डेंगुका विरामी देखिएका छन्। 

शहरमा डेंगुको जोखिम धेरै

शहरीकरण भएका क्षेत्रमा डेंगुका विरामी बढी देखिएका छन्। 

मानिसले बेवास्ता गर्दा पानी जमेको ठाउँबाट लामखुट्टे बढेर डेंगु फैलिरहेको छ। १२ महिनाको तुलना गर्दा कुनै पनि महिना पोहरको भन्दा बढी भएको छैन तर त्यसो भनेर ढुक्क हुने अवस्था नरहेको उनले बताए। 

उनले यसका लागि सावधानी अपनाउनुपर्ने बताए। यही मौसममा सबैभन्दा बढी सावधानी अपनाउनुपर्ने उनले बताए। उनका अनुसार पानी परेकाले अझै केही दिन डेंगु फैलिनसक्ने सम्भावना छ। 

स्वास्थ्य मन्त्रालयले डेंगु लागिसकेपछि उपचार र व्यवस्थापन सम्बन्धमा मन्त्रालयअन्तर्गतका सबै अस्पतालबाट उपचार गरिरहेको छ। डेंगु हुन नदिन गर्नुपर्ने एउटै मात्र काम- लामखुट्टे खोज र नष्ट गर अभियान चलाउनुपर्ने उनले बताए। 

स्वास्थ्य स्वयंसेविका, स्थानीय तहमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरू, प्रदेश र संघअन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट यो सन्देश दिइरहेको उनको भनाइ थियो। 

पानी जम्ने र ओसिलो ठाउँ राख्न नदिउँ

​आकाशबाट पानी परेपछि पानी जम्ने समयमा लामखुट्टेको वासस्थानका लागि एकदमै उपयुक्त तापक्रम हुने भएकाले र सिजन पनि भएकाले लामखुट्टे बढ्छन्। 

टायर, भाँडाका बिर्का, गमला, एसीपछाडि, फ्रिजपछाडि, छानामा‚ घरमा पानी जम्मा गरेको ड्रममा पानी जम्मा हुन्छ। त्यो जमेको पानीमा डेंगु फैलाउने एडिज प्रजातिको लामखुट्टे हुन्छ। 

त्यसले त्यहाँ पारेको फुल संक्रमित भए लामखुट्टे पनि संक्रमित हुन्छ। यो रोक्न अलि कठिन भएको कारण पनि त्यही नै हो। त्यसैले मनसुनपछि घरबाहिर खुला ठाउँमा पानी जम्न नदिनु सबैभन्दा राम्रो हो। 

डेंगुबाट बच्न पानी जम्मा गरिएका पानीका ट्याङ्की, ड्रम, गाग्री, बाल्टिन जस्ता भाँडामा लामखुट्टे छिर्न नपाउने गरी छोपिदिनुपर्छ। 

आफ्नो घर र वरपर, सार्वजनिक स्थल, कार्यालयमा भाँडाकुँडा, जुस खाएर बोतल जथाभावी फाल्नु हुँदैन। डेंगुबाट बच्न शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.