काठमाडौँ : यो वर्ष जापानी इन्सेफ्लाइटिस (जेई)का कारण धेरैको मृत्यु भएको छ। संक्रमण र संक्रमणपछिको मृत्युदर डेंगुभन्दा पनि धेरै रहेको जेईबाट गत पुसयता मात्रै २३ जनाले ज्यान गुमाएको पाइएको हो।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको विवरणअनुसार गत पुसयता जेई संक्रमणले १५ जिल्लाका २३ जनाको मृत्यु भएको छ। यो संख्या एकै वर्षमा जेई संक्रमणबाट नेपालमा मृत्यु हुने सबैभन्दा धेरै हो।
देशभर ३० जिल्लामा फैलिँदा ८० जना संक्रमित फेला परेका छन्। यो अवधिमा ९१५ शंकास्पद विरामीको नमुना परीक्षण गरेको महाशाखाले जनाएको छ। यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै हुँदै आएको छ।
यो वर्ष सुरुमा साउनमा कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा जापानी इन्सेफ्लाइटिस संक्रमण देखिएको थियो। यस्तै कल्याण महाशाखाको विवरण हेर्दा पनि यो वर्ष साउन‚ भदौ‚ असोजमा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए। जसमा अगस्टमा ५४ जना, अक्टोबर १६ जना र अक्टोबरमा ३ जना र अन्य संक्रमित मार्च जुलाइमा भेटिएका थिए।
डेंगु र हैजाभन्दा तुलनात्मक रूपमा बढी घातक मानिने जापानी इन्सेफ्लाइटिस संक्रमणका विरामी यो महिनामा मात्रै देशभर ५४ जना भेटिएको देखिएको थियो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार जेईका कारण पुसयता कैलालीमा ३ जना कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई-दुईजना, रूपन्देही, पाल्पा, चितवन, काठमाडौं, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक–एकजनाको मृत्यु भएको छ।
खोप शाखा प्रमुख डा. गौतमले भने‚ ‘यो वर्ष हाम्रोमा हालसम्म ८० जना संक्रमित फेला परेका छन् भने २३ जनाको मृत्यु भएको छ। जनस्वास्थ्यको हिसाबले यो अलि जटिल अवस्था हो।’
यस्तै महाशाखाका अनुसार जेई संक्रमणबाट मृत्युहुने दर हाल नेपालमा बढेर २८ प्रतिशत पुगेको छ।
यसरी हेर्दा डेंगुभन्दा बढी घातक जेई संक्रमण रहेको देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार गत पुसयता हालसम्म देशभर २९ हजार एक सय ५८ जना डेंगुका विरामी भेटिएका छन् तर संक्रमितको हिसाबमा यसबाट हुने मुत्युदर कम रहेको छ। २९ हजार डेंगु संक्रमित भेटिदा यो अवधिमा १२ जना विरामीको मृत्यु भएको छ।
महाशाखाको विवरण हेर्दा पनि गत गत चार वर्षको तुलनामा यो वर्ष संक्रमणभन्दा मुत्युहुने दर धेरै हो। सन् २०२३ मा नेपालमा १०७ वटा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो। त्यसैगरी २०२२ मा ६६, २०२१ मा २८, २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको थियो। तर यो वर्ष संक्रमण १०० भन्दा तल नै हुँदा पनि मृत्यु हुनेको संख्या २३ पुगेको छ।
जेई संक्रमण खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्दा नेपालमा सामान्य र नियन्त्रणमा राख्न सकिने रोगहरूबाटै हुने मृत्युको संख्या बढ्नु जनस्वास्थ्यको हिसावले चुनौतीको विषय रहेको देखिएको छ।
सरकारी तथ्यांकअनुसार नेपालमा जापानी इन्सेफ्लाइटिस करिब ४६ वर्षअघि महामारीको रूपमा पहिलोपटक रूपन्देहीमा देखिएको थियो। यो भाइरल रोगको पहिलो विरामी सन् १८७१ मा जापानमा देखिएकाले यसको नाम जापानी इन्सेफ्लाइटिस रहन गएको हो।
के हो जापानी इन्सेफ्लाइटिस ?
खोप शाखा प्रमुख डा. गौतमका अनुसार जापानी इन्सेफ्लाइटिस एन्टिभाइरल उपचार नभएकाले यसविरुद्धको खोप लगाउनु र लामखुट्टेको टोकाइबाट बच्नु नै सुरक्षाको सबैभन्दा राम्रो उपाय हो। खोप लगाउँदा यस रोगबाट बच्न सक्ने ९९ प्रतिशत सम्भावना हुन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार जापानी इन्सेफ्लाइटिस एसियाका धेरै देशमा भाइरल इन्सेफ्लाइटिसको मुख्य कारण हो। यसमा प्रत्येक वर्ष अनुमानित १ लाख विरामी हुने गरेका छन्।
जापानी इन्सेफ्लाइटिस भाइरस डेंगु, यलो फिभर र वेस्ट नाइल भाइरससँग सम्बन्धित फ्लेभिभाइरस हो र यो लामखुट्टे (विशेष गरी क्युलेक्स ट्राइटेनियरहिन्चस) द्वारा फैलिन्छ। यद्यपि लाक्षणिक जापानी इन्सेफ्लाइटिस दुर्लभ छ तर इन्सेफ्लाइटिस भएकाहरूमा मृत्युदर ३० प्रतिशतसम्म हुन सक्छ। स्थायी न्यूरोलोजिक, संज्ञानात्मक र व्यवहारिक परिणामहरू इन्सेफ्लाइटिस भएकामध्ये ३० देखि ४० प्रतिशतमा हुन्छ।
डब्लुएचओका अनुसार एउटा अध्ययनको अनुमानअनुसार वर्षेनि विश्वभरीमा यसका एक लाख विरामी हुन्छन् र त्यसमा करिब २५ हजारको मृत्यु हुन्छ। यो संक्रमणले मुख्य रूपले बालबालिकालाई प्रभावित गर्छ तर जुनसुकै उमेर व्यक्ति यो सङ्क्रमणबाट प्रभावित हुन सक्छन्।
डब्लुएचओका अनुसार धेरै यसको संक्रमण लक्षणमा हल्का ज्वरो र टाउको दुखाइ वा स्पष्ट लक्षणबिना हुन्छन्।
यो संक्रमण गराउने 'फ्लेवी' भाइरस सुँगुर र पानीमा बस्ने चरामा पाइन्छ। जेई भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा, चराचुरुङ्गी एवं बंगुर, सुँगुरजस्ता जनावरलाई लामखुट्टेले टोक्दा उक्त लामखुट्टे सङ्क्रमित हुन्छ। यस्ता सङ्क्रमित लामखुट्टले टोक्दा यो संक्रमण देखिने गर्छ।
नेपालमा पनि यसविरुद्ध पाँच वर्षमुनिका बालबालिकालाई नियमित रूपमा खोप लगाइँदै आइएको छ। यस्तै वेला वेलामा संक्रमण देखिदा विशेष खोप अभियान समेत सञ्चालन हुँदै आएको छ तर यो खोप लगाएको १० दिनपछि मात्रै काम गर्ने हुँदा संक्रमण देखिएपछि उक्त क्षेत्रमा खोप अभियान चलाउनुभन्दा नियमित खोप तालिका अनुरूप नै बालबालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउनु उपयुक्त हुने खोप शाखा प्रमुख डा. गौतमले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।