|

सन् २०२४ मा विश्व नै निर्वाचनमय बनेको छ। वर्ष सुरू भएसँगै विश्वका विभिन्न मुलुकमा नयाँ नेतृत्व परिवर्तन भएसँगै विश्व राजनीतिमा फेरबदल हुने निश्चित देखिएको छ।

मंगलबार मात्र मतदान भएको अमेरिकामा रिपब्लिकन पार्टीले विजय हासिल गर्दै डोनाल्ड ट्रम्प चार वर्षपछि ह्वाइट हाउस फर्किएका छन्।

त्यस्तै, दोस्रो कार्यकालमा स्पष्ट बहुमत प्राप्त गरेका भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक प्रधानमन्त्री त बने। तर, यो कार्यकालमा भने उनको शक्ति कम छ। पार्टीको स्पष्ट बहुमत नहुँदा मोदीले टिडिपीका नेता चन्द्रबाबु नायडुजदयुका नेता नितिश कुमारको ग्रीन सिग्नलबिना  कुनै पनि निर्णय मनमौजी गर्न सक्दैनन्।

त्यस्तै, फ्रान्समा पनि राष्ट्रपति इमानुएल म्याक्रोनले पनि हार व्यहोरे। त्यस्तै जापानमा पनि लामो समयदेखि सत्तासिन पार्टीले हार व्यहोर्‍यो।

​ यी त केवल उदाहरण मात्र हुन्।  यो वर्ष संसारभर ६० मुलुकमा चुनाव भएका छन्। १८ देशका नागरिकले प्रत्यक्ष निर्वाचनमार्फत आफ्नो नेतृत्व छानेका छन् भने  ४२ देशका नागरिकले अप्रत्यक्ष रूपमा नेतृत्व छानेका छन्।

केही देशको अवस्था कस्तो रह्यो?

जापान

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी एलडिपी नेतृत्वको गठबन्धनले संसदमा बहुमत गुमाएको छ। अचानक भएको निर्वाचनबाट सत्ता गठबन्धनले खराब नतिजा भोगेको हो।

केहि दिन अगाडि भएको आवधिक निर्वाचनबाट विपक्षी दलले तल्लो सदनका आधाभन्दा बढी सिट जितेको छ। २२ सिटको परिणाम आउनुअघि सत्तारुढ एलडीपी नेतृत्व गठबन्धनले २०८ सिट मात्र जित्न सक्यो। जबकि विपक्षी पार्टीले २३५ सिटमा जित निकालेको छ।

४६५ सिट रहेको संसदको तल्लो सदनमा बहुमतका लागि २३३ सिट आवश्यक पर्छ। विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा सत्तारूढ दलका नेताहरूमाथि विभिन्न राजनीतिक घोटाला, भ्रष्टाचार लगायतका आरोपहरु लागेका छन्।

यसले पार्टीको साख कमजोर हुन थालेपछि एलडिपीका नयाँ नेता तथा प्रधानमन्त्री शिगेरु इशिबाले आफू नेतृत्वमा आएलगत्तै आमनिर्वाचनको घोषणा गरेका थिए।

निर्वाचन परिणाम प्रतिकूल आएपछि उनले अब जनताको मत विनम्रताका साथ स्वीकार गर्ने प्रतिबद्धता जनाएको बीबीसीले उल्लेख गरेको छ।

जापानमा शक्तिशाली मानिने तल्लो सदनमा बहुमत गुमे पनि सरकार भने फेरबदल नहुने बताइएको छ।

फ्रान्स

सत्तामा रहेका इमानुएल म्याक्रोनले संसद्बाट हार व्यहोरे। गत जुलाइमा भएको  फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टले जित हात पारेको हो।

दोस्रो तथा अन्तिम चरणको निर्वाचनमा न्यू पपुलर फ्रन्टले १८८ सिटमा जित हासिल गरेर सबैभन्दा अगाडि रहेको छ। पहिलो चरणको निर्वाचनमा धुर दक्षिणपन्थी पार्टी नेशनल रैली बहुमतको तर्फ अघि बढेको थियो। तर, दोस्रो निर्वाचनमा दक्षिणपन्थी १४३ सिटका साथ तेस्रो स्थानमा सीमित बनेको थियो।

५७७ संविधान सभा सदस्यका लागि फ्रान्समा बहुमतको सरकार गनका लागि २८९ सिटमा जित्नै पर्ने हुन्छ।

अमेरिका

अमेरिकामा भर्खरै भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए।

बहुमतका लागि आवश्यक पर्ने २७० इलेक्टोरल भोटमा ट्रम्पले २९४ मत प्राप्त गरेका छन् भने ह्यारिसले २२३ मत रहेको छ। केही ठाउँमा मतगणना जारी छ। ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा सपथ लिनेछन्।

भारत

भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।  कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजयी भएको छ। उसले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ। उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो।

यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ।

भारतमा लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । भाजपा नेतृत्वको एनडिएले २ सय ९३ सिट ल्याएको थियो । एनडिएमा आबद्ध आन्ध्रप्रदेशको क्षेत्रीय दल तेलगु देशम पार्टी (टिडिपी) को १६ र बिहारको क्षेत्रीय दल जनता दल युनाइटेड (जदयु) को १२ सिटको समर्थन मोदीलाई प्रधानमन्त्री बनाउन निर्णायक भएको हो।

निर्वाचनको परिणामपछि देखिएका आशंकालाई चिर्दै टिडिपीका नेता चन्द्रबाबु नायडूजदयुका नेता नितिश कुमारले मोदीलाई समर्थन गरेका थिए।

बेलायत

जुलाईमा बेलायतमा सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टीले भारी बहुमत प्राप्त गर्‍यो। सम्पन्न निर्वाचनमा तल्लो सदन हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने कुल ६ सय ५० निर्वाचन क्षेत्रमध्ये लेबरले ४ सय १२ स्थानमा विजय हासिल गर्‍यो।

दुई तिहाइ नजिकको बहुमतसहित लेबर पार्टीका नेता सर केर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बने। र अन्ततः १४ वर्षदेखि निरन्तर सत्तामा रहेको कन्जरभेटिभ पार्टीको युगलाई समाप्त गर्दै लेबरले सत्तामा पुनरागमन गर्‍यो। देशभरमा कन्जरभेटिभ पार्टीले मात्रै १ सय २१ सिटमा जित सुरक्षित गरेको छ।

रसिया

गत मार्चमारूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको ६ वर्षको नयाँ कार्यकालका लागि निर्वाचित भए। प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीनजना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उनका आलोचकहरूले त्यसबेला आरोप  लगाएका  थिए।

रूसी निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको चुनावी नतिजा अनुसार पुटिनले ८७ प्रतिशत मत पाएका छ भने उनका प्रतिस्पर्धी निकोलाई खारितोनोभले ४.१ प्रतिशत, भ्लादिस्लाभ दाभान्कोले ३.८ प्रतिशत र लियोनिद स्लट्स्काईले ३.१५ प्रतिशत मत प्राप्त गरेका थिए।

नेपाल टेलिभिजनले बनाएको रिपोर्ट अनुसार विश्वका करिब ६ अर्ब नागरिकले निर्वाचनमा भाग लिएका छन्। धेरै देशका  नागरिकले अहिले भोगिरहेका आर्थिक संकट, जलवायु परिवर्तन, युद्धको धङधङ्दी, असुरक्षाका कारण नयाँ नेतृत्व स्वागत र पूराना नागरिकलाई बिदाइ गरिदिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.